बिर्तामोड । भारतीय हाउजिङ कम्पनी वास्तु बिहारले विना ईजाजत भवन निर्माण सुरु गरेको पुष्टि भएको छ । उसले गरेका निर्माण कार्य अवैधानिक भएको पाइएको छ ।

पर्सा जिल्लाको पर्सा महानगरपालिका-१० आदर्श नगरमा दर्ता रहेको टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालिकाे नाममा कम्पनीले बिर्तामोड-४ मा संस्थाको शाखा खोल्न सिफारिस मागेको छ। 

बिर्तामोड नगरपालिका-४ मा कारोबार गर्ने स्वीकृति मागेर कमपनीले अहिले बिर्तामोड-२ मा हाउजिङ व्यवसाय सुरु गरेकाे पाइएको छ। 

स्थानीय चारजना व्यक्तिको जग्गामा सम्झौता गरी भवन निर्माण कार्य थालेको टेक्नोकल्चरले  बिना स्वीकृति निर्माण कार्य अगाडि बढाइरहेको वडा कार्यालयको रेकर्डमा उल्लेख छ।

कम्पनीले नगरबाट स्वीकृति लिँदा घरजग्गा खरिद बिक्री गर्ने भनेको छ। तर, घर बनाएर बिक्री गर्ने स्वीकृति अहिलेसम्म पनि लिएको छैन। कम्पनी ऐन अनुसार कुनै पनि कम्पनी सञ्चालन गर्नुपूर्व प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गर्नुपर्ने हुन्छ। त्यसका साथै सरोकारवाला स्थानीयको रोहबरमा सर्जमिन गरेर स्वीकृति लिनुपर्छ। ती सबै प्रक्रिया पूरा नगरी भौतिक संरचना अहिले पनि धमाधम निर्माण गरिरहेको छ ।

techno

स्थानीय चिमितबारी टोल विकास संस्थाका अध्यक्ष राकेश राजवंशीले भने- 'हामीसँग कुनै समन्वय नगरी यति ठूलो प्रोजेक्ट सुरु गरिएको छ। न त हामीलाई सोधपुछ गरियो, न त कुनै समन्वय नै गरियो, यो कसले निर्माण गरेको हो भन्ने पनि हामीलाई थाहा छैन ।' 

उनले कम्पनीले पर्खाल बनाएर घेरावारा गरेका कारण आगामी वर्षातमा दर्जनौं घर डुबानमा पर्न सक्ने बताए । 'डुवान हुने निश्चित छ, हाम्रो त उठिबास लगाउने भए, रामचोक देखिको पानीको निकास त्यस स्थानबाट हुँदै गरेकोमा पर्खाल लगाएर अवरोध गरेपछि बस्ती डुवानमा पर्छ, राजबंशीले भने-' हाम्रो राय विना नै सुरु गरिएको यो योजना रोकिनु पर्छ ।

अर्का स्थानीय विष्णु इङनामले पनि स्थानीयलाई प्रत्यक्ष असर पुग्ने गरी निर्माण कार्य अगाडि बढाइएको बताए । उनले पानीको उचित निकासको व्यवस्था नगरी निर्माण कार्य अगाडि बढाइँदा बस्ती डुबानमा पर्नेप्रति सरोकारवाला निकायले बेलैमा ध्यान दिन आग्रह गरे ।

यसअघि केही सञ्चार माध्यमले अवैध तरिकाले वास्तु बिहारले घर निर्माण गरिरहेको समाचार प्रकाशन गरेपछि भने फागुन २७ गते बिर्तामोड-२ मा प्रक्रिया अगाडि बढाइदिन सो कम्पनीले निवेदन दिएको छ।

बिर्तामोड २ का वडाध्यक्ष किशोर पौडेलले यदि स्थानीयले निर्माण प्रक्रियालाई सहमति नदिएमा टेक्नोकल्चरको सम्पूर्ण प्रक्रिया बन्द गरिने बताएका छन्। उनले यसअघि नै यो कम्पनीले ठगीधन्दा चलाउन खोजेको बताइसकेका छन्  । स्थानीय निकायमा बिना दर्ता आक्रामक प्रचारप्रसार गरेर घर बुकिङ गर्न आग्रह गर्नुले ठगीधन्दा चलाएको बुझ्न सकिने उनले प्रष्ट पारेका छन् ।

वडा अध्यक्ष पौडेलले पहिले आफ्ना वडाको नागरिकको जिउधनको रक्षा हुने ग्यारेन्टी हुनुपर्ने र त्यसपछि मात्र व्यावसायिक कम्पनीले व्यवसाय गर्न पाउनुपर्ने आफ्नो धारणा रहेको प्रस्ट्याएका छन्। उनले वास्तु बिहार भनेर व्यापक प्रचार गरिएको छ तर वास्तु बिहार भन्ने कुनै पनि प्रमाण अहिले नखुलेकाले प्रचारप्रसार तुरुन्त रोक्न आग्रह गरेका छन्  । यदि प्रचार सामग्री नहटाएमा नगरले हटाउने समेत उनले बताएका छन् ।

वडा अध्यक्ष पौडेलले टेक्नो कल्चरले तत्काल सम्पूर्ण प्रक्रिया अगाडि नबढाई सम्पूर्ण प्रक्रिया रद्द गरी कारबाही गरिने उनले जानकारी दिएका छन् । यस अघि पनि नगरले अवैध रूपमा निर्माण कार्य अगाडि बढाएको भन्दै निर्माण कार्यमा रोक लगाएको थियो ।