अर्जुनधारा । अर्जुनधारा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा नगरमै पहिलो पटक वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नगरपालिकाका ११ वटै वडाका खेलाडीको सहभागितामा नगरमा पहिलो पटक वडा स्तरीय टि–२० फरमेटको क्रिकेट प्रतियोगिता हुन लागेको हो । खेलाडी पहिचान गरेर नगरपालिकाको बलियो टिम तयार गर्न प्रतियोगिताको आयोजना गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
चैत २० गतेदेखि सुरु हुने प्रतियोगिता, अर्जुनधारा–७ मा रहेको खेलमैदानमा सञ्चालन हुने छ । प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा आवश्यक खेल सामग्री खरिद गरिसकिएको खेलकुद बिकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।
प्रतियोगितामा बिजेता हुने वडाले नगद ५० हजार तथा उपबिजेताले नगद २५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी बिधागत पुरस्कारकाे ब्यवस्थासमेत गरिएकाे आयाेजकले जनाएकाे छ ।