बिर्तामोड। झापाको शिवसताक्षीमा सुरु एलभिडी झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले शानदार जित दर्ता गरेको छ ।

आज भएको खेलमा अर्को एक डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसका तर्फबाट मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे । रेखाले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन् ।

खेलको चौथो मिनेटमा पुलिसकी डिफेन्डर पूजा रानाले सेन्टर जोनबाट लिएको फ्रिकिक चर्चको गोल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको सातौँ मिनेटमा पुलिसकी फरवार्ड रेखा पौडेलले ठुलो डिबक्सबाट गरेको प्रहार चर्चकी गोलकिपर करुणा बुढाथोकिले बचाएकी थिइन् ।

१५ औँ मिनेटमा चर्चले पहिलो अन टार्गेट सट लियो । २२ यार्डको दूरीबाट चर्चकी प्रतिक्षा मल्लको सट पुलिसकी गोलकिपर उषा नाथले सहजै कलेक्ट गरेकी थिइन् ।

१७ औँ मिनेटमा पुलिसकी फरवार्ड मिना देउबाले चर्चको डिफेन्डरलाई बिट गर्दै लिएको पावरफुल सट चर्चको पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

२६ औँ मिनेटमा पुलिसले गोलको सुनौलो अवसर खेर फाल्यो । मिनाले चर्चकी गोलकिपर करुणालाई बिट गरे पनि सटलाई टार्गेटमा राख्न सकिनन् । ३५ औँ मिनेटमा चर्चले जवाफी अट्याक बुने पनि गोलको अवसर भने सदुपयोग गर्न सकेन । पुलिसको पेनाल्टी बक्सभित्र  वर्षाले दिएको क्रसलाई प्रतिक्षा मल्लले फिनिस गर्न सकिनन् ।

३७ औँ मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो । दुई राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्यो । केही दिनअघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मिनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् ।

दोस्रो हाफको सुरुवाती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१ औँ मिनेटमा मिना देउबाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो । चर्चको डिफेन्डर र गोलकिपरबीच राम्रो तालमेल नहुँदा मिनाले त्यसको फाइदा उठाइन् ।

५९ औँ मिनेटमा मिनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन् । उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन् । त्यसको पाँच मिनेट बित्न नपाउँदै मिनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । पुलिसको लंगभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मिनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन् ।

६८ औँ मिनेटमा रेखाको सुन्दर क्रसमा मिनाले आफ्नो चौथो गोल गरिन् । ८० औँ मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो । रेखाको उक्त सटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन् ।

त्यसको तीन मिनेट बित्न नपाउँदै मिनाले टोलीका लागि सातौँ तथा व्यक्तिगत पाँचौँ गोल पूरा गरिन् । खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन् ।

खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउबा भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन्