बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी झापा महिला गोल्डकपअन्तर्गत आज अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मीले आरएस पोखरा एफसीविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् । पोखरा महिला लिग छनोट प्रतियोगिताबाट महिला लिगमा छनोट भएको टोली हो ।
यस खेलको विजेता टोलीले सेमिफाइनलमा बलियो टिम एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि एपिएफले भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब लाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
अर्कोतर्फ फाइनल प्रवेशका लागि संकटा फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाले झापा एफसीलाई र पुलिसले चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।




















