बिर्तामाेड । झापा गाेल्डकपकाे माघ २४ गतेदेखि सुरु हुने साताैं संस्करणकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । आयाेजकले बिर्तामाेडमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर तयारी अन्तिम चरणमा पुगेकाे बताएकाे छ ।

प्रतियाेगितामा नेपाल, भारत, भुटान र मलेशियाका टिमकाे सहभागिता रहने जनाइएकाे छ । यसअघिका संस्करणमा नेपाल, भारत र नाइजेरियाका टिमकाे सहभागितामा सम्पन्न हुँदै गरेकाेमा मलेशिया र भुटानकाे टिम पहिलाे पटक झापा गाेल्डकपमा सहभागि हुन लागेकाे हाे ।

प्रतियाेगितालाई दिवंगत रहेका पूर्व अध्यक्ष बिनाेद बस्नेतकाे स्मृतिमा सञ्चालन गर्ने आयाेजककाे तयारी छ । प्रतियाेगितामा झापा-११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ एफसी, नेपाल पु्लिस एफसी, मच्छिन्द्र एफसी, लालीगुराँस एशाेसिएसन पाेखरा, राेयल थिम्पु भुटान, सिंङलिङ स्पाेर्टिङ क्लब भारत र एन पेनाङ एफसी मलेशियाकाे सहभागिता रहेने भएकाे छ ।
प्रतियाेगिताकाे बिजेताले नगद १५ लाख र उपबिजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । बिधागत तर्फ फाइनलका उत्कृष्ठ खेलाडी तथा अफिसियलले जनही ३५ हजार रुपैंयाँ पुरस्कार पाउने आयाेजक समितिका सचिव बुद्व तामाङले जानकारी दिए । उनले प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैंयाँ पुरस्कार पाउने बताए ।
प्रतियाेगिता सम्पन्न गर्न १ कराेड ५० लाख रुपैंयाँ खर्च हुने अनुमान आयाेजककाे छ । याे संस्करण आयाेजना भइरहँदा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई २५ हजार तथा जग्गादाता डाेमालाल राजबंशीकाे परिवारलाई २५ हजार रुपैयाँ प्रदान गरिने जनाइएकाे छ ।
याे प्रतियाेगितालाई एग्राे थाई फुड्सकाे उत्पादन एक्सट्रिम एनर्जी ड्रिङ्कसले प्रायाेजन गर्ने सहमति भएकाे छ । शुक्रबार पत्रकार सम्मेलनकै समयमा मुख्य प्रयाेजकसमेत रहेकाे एक्सट्रिम एनर्जी ड्रिङ्कस र आयाेजकबिच सम्झाैतापत्रमा हस्ताक्षर भएकाे छ ।
प्रतियाेगिताका लागि मैदान मर्मतकाे काम पनि अन्तिम चरणमा छ भने बाँसकाे अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेकाे छ । मत्र्च सजावट बाहेककाे सम्पूर्ण तयारी पूरा भइसकेकाे आयाेजक समितिका संयाेजक केदार गिरीले जानकारी दिए ।
नेपालमै सबैभन्दा बढी फुटबलका गतिविधि हुने जिल्ला मानिएकाे झापाका खेलाडीले राष्ट्रिय टिममा उल्लेख्य संख्यामा सहभागिता जनाउँदै आएका छन् । खेलाडी उत्पादन तथा प्राेत्साहनका लागि प्रतियाेगिता फलदायी हुने बिश्वास आयाेजककाे रहेकाे छ ।




















