अर्जुनधारा । अर्जुनधारामा आइतबारदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगिता सुरु भएकाे छ । अर्जुनधारा-१ काे सिंहदेवी माध्यमिक बिद्यालयमा एक समाराेहकाे आयाेजना गरेर प्रतियाेगिता उद्घाटन भएकाे हाे ।

चारदिन सम्म सञ्चालन हुने प्रतियाेगिताकाे अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेबसिंह गाेम्देनले उद्घाटन गरेका छन् । प्रतियाेगितामा भलिबल, एथ्लेटिक्स, मार्सल आर्टस, ज्याब्लीङ, सटपुट र कबड्डी लगायतका बिधामा ४०० खेलाडीले सहभागिता जनाउने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । 

नगरपालिका भरी सञ्चालनमा आएका २८ वटा माध्यमिक बिद्यालयका खेलाडीले ६६ स्वर्ण, ६६ रजत र १०२ कास्य पदकका लागि प्रतियाेगितामा प्रतिष्पर्धा गर्ने भएका छन् । नगरबाट छनाैट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियाेगितामा सहभागिता जनाउने छन् । 

लगातार तीन पटक जिल्ला प्रथम भएकाे अर्जुनधारालाई याे बर्ष पनि त्याे साख जाेगाउने चुनाैती रहेकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै नगरप्रमुख गाेम्देनले खेललाई मनाेरञ्जनकाे साधन मात्र नठानेर व्यवसायिकताकाे दर्जा दिनुपर्ने बताए । उनले खेलाडीलाई उच्च मनाेबलका साथ स्वच्छ प्रतिष्पर्धा गर्न पनि सुझाब दिएका छन् । 

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, वडा न १ का अध्यक्ष उपेन्द्र बस्नेत, ६ का अध्यक्ष हरिश्चन्द्र वाँस्ताेला, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष लगायतकाे सहभागिता रहेकाे थियाे ।