बिर्तामोड । झापा गोल्डकपको सातौं संस्करणको तयारी पूरा भएको छ । शनिबारदेखि बिर्तामोड-३ को डोमालाल राजवंशी रंगशालामा सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।
आयोजक समितिले शुक्रबार रंगशालाामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको लागि १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । यसका अतिरिक्त २ हजार कुर्सीको व्यवस्थापन गरिएको आयोजक समितिका अध्यक्ष केदार गिरीले जानकारी दिए ।
प्रतियोगिताका लागि करिब दुई महिनादेखि मैदान स्तरोन्नतिको काम गरिएको थियो । मैदान, मञ्च तथा प्यारापिट र अन्य आवश्यक तयारी सकिएको उनले बताए ।
प्रतियोगितामा आयोजक झापा-११, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब, सिक्किमको सिङलिङ स्पोर्टिङ क्लब, आरटिसी भुटान, चर्च व्वाइज युनाइटेड, लालिगुराँस एशोसिएसन पोखरा, एन पेनाङ फुटबल क्लब मलेशिया र मच्छिन्द्र फुटबल क्लबको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैया पुरस्कार पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद २५ हजार तथा फाइनलका उत्कृष्ट गोलरक्षक, प्रशिक्षक र स्ट्राइकरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । फाइनलकै दिन प्रतियोगिताको एकजना उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको एक थान मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ५० लाखको बजेट अनुमान गरिएको महासचिब बुद्व तामाङले जानकारी दिए ।
प्रतियोगितामा १०० र २०० को टिकटदर कायम गरिएको छ । यो पटक थपिएका २५० सहित आयोजकले सदस्य संख्या ८०० पुर्याएको बताएको छ । सदस्यबाहेक प्रतियोगिता अवलोकनका लागि पासको व्यवस्था नगरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिकट काटेेर फुटबल हेर्ने दर्शकलाई हरेक दिन ३२ इन्चको हिमस्टार कम्पनिको टिभी उपहार प्रदान गरिने छ । फाइनलको दिन लक्की ड्र गरेर एकजना भाग्यशाली दर्शकलाई यामाहा कम्पनीको १२५ सिसिको स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ ।
शनिबारको उद्घाटन खेल झापा-११ र नेेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।




















