झापा  । झापाको कमल गाउँपालिका–३ केर्खामा मकैबारीभित्र बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेकी छन्।

आज बिहान करिब ६:१० बजे स्थानीय लिलाराज थापाले आफ्नै घर नजिकै रहेको करेसाबारीभित्र मकैबारीमा ती नवजात बालिकालाई देखेपछि घटना सार्वजनिक भएको हो।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरेको थियो। उद्धारपछि उनलाई उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको छ। अस्पताल स्रोतका अनुसार शिशुको अवस्था हाल सामान्य रहेको छ।

प्रहरीका अनुसार अज्ञात व्यक्तिले रातिको समयमा शिशुको जन्म दिई मकैबारीमा छोडेको हुनसक्ने आशंका गरिएको छ। हाल शिशुको आमाको पहिचान तथा खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ।