बिर्तामोड । लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध सञ्चालन गरिएको “अपरेशन ब्राउन” अभियान अन्तर्गत झापाबाट खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरीका अनुसार हिजो दिउँसो करिब १:३० बजे अर्जुनधारा नगरपालिका–६ अदुवा खोलास्थित भत्केको पुल नजिक एक डेरा कोठामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।

छापामार क्रममा उक्त डेरा कोठाबाट प्लास्टिक बाहेक २२ ग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थ डिजिटल तराजुमा तौल गर्दा उक्त परिमाण फेला परेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गौरादह नगरपालिका–३ चप्रामारीका धनबहादुर राजवंशी, अर्जुनधारा नगरपालिका–११ सालबारीका तिनतालु राजवंशी र सोही स्थानकी सृजना राईलाई नियन्त्रणमा लिएको छ।

उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय अनारमनीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।