बिर्तामोड । कनकाई नगरपालिका–५ चप्रामारीमा पूर्व रिसिवीका कारण भएको विवादमा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ।
हिजो साँझ बाह्रदशी गाउँपालिका–७ निवासी ३० वर्षीय सूर्यलाल राजवंशीमाथि बाटोमा हिँडिरहेका बेला कनकाई–५ तुलसीबारीका २५ वर्षीय दीपक बिष्टले दाउ प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका राजवंशीको प्रारम्भिक उपचार कनकाई नगर अस्पताल सुरुङ्गामा गरिएको थियो। थप उपचारका लागि उनलाई बी एण्ड सी अस्पताल बिर्तामोड पठाइएको छ। घटनापछि प्रहरी टोलीले प्रयोग गरिएको दाउसहित आरोपी बिष्टलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।



















