बिर्तामोड । झापामा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले एकै दिन विभिन्न स्थानबाट ब्राउन सुगरसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड–५ निवासी कमरुदीन मिया र उनकी श्रीमती संजिला शेख मियालाई शंकाको आधारमा जाँच गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।
त्यसैगरी झापा गाउँपालिका–५ खाताबस्तीमा सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड–६ निवासी ३८ वर्षीय पप्पु यादवलाई पक्राउ गरेको छ। उनको साथबाट १ ग्राम ५१ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि प्रहरी चौकी शरणामति बुझाइएको छ।
यस्तै, भद्रपुर नगरपालिका–५ नयाँबजारमा प्रहरीले बिर्तामोड–३ निवासी २२ वर्षीया पुष्पा परियारलाई पक्राउ गरेको छ। उनको साथबाट २ ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद भएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच झापा गाउँपालिका–५ सलिमडाँगीमा मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक–६ निवासी १९ वर्षीय विमल कार्की र मोटरसाइकल पछाडि सवार दमक–१ निवासी २० वर्षीय सन्देश कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्कीको साथबाट १४ ग्राम ४ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


















