बिर्तामोड । झापामा गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी खेलाउने आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफे परिसरबाट बिर्तामोड–४ का ४९ वर्षीय किरण कन्दङ्वा, ३८ वर्षीय टेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईं पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरण बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेल खेलाउने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।