बिर्तामोड । आयोजकसँगको मिलेमतोमा सार्वजनिक स्थानमा जुवाजन्य खेल 'हाउजी' खेल्न अनुमति दिंदै आएको झापा जिल्ला प्रशासन कार्यालयले चौतर्फी बिरोधपछि त्यसो अनुमति दिन रोक लगाउन थालेको छ ।

नियामक निकाय जिल्ला प्रशासन कार्यालयले 'बिविध' गतिविधि सञ्चालन गर्ने भन्दै झापाका चोक-चोकमा जुवाजन्य खेल हाउजी बिङ्गो तम्बोला खेलाउन अनुमति दिदै आएको थियो ।

प्रशासन कार्यालयले यो बर्ष बुद्वशान्ति गाउपालिकाको बुधबारेमा एक, जयपुरमा एक, अर्जुनधाराको शनिश्चरेमा तीन, बिर्तामोडमा तीनपटक हाउजी खेलाउन अनुमति दिएको थियो । यसअघिका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वाँस्तोलाको स्वीकृतिमा त्यसरी जुवाजन्य खेल खेलाउन अनुमति प्राप्त हुने गरेको हो ।
एउटा अमुक संस्थाको ब्यानरमा खेलाइने त्यस खेलका मुख्य सञ्चालक भने अगाडि देखिदैनन् । उनीहरुले नै प्रजिअदेखि स्थानीय प्रहरीलाई प्रभाबमा पारेर खुलेआम जुवा खेलाउदै आएका हुन् ।
प्रजिअ वाँस्तोलाको केही समयअघि सरुवा भयो । प्रजिअका रुपमा गोपाल अधिकारी आए । उनले पनि प्रारम्भमा जुवाजन्य खेल हाउजीका लागि 'बिविध' शिर्षक राखेर अनुमति दिए । तर, पछिल्लो समय चौतर्फी आलोचना हुन थालेपछि प्रशासनले हाउजी खेलाउन प्रतिबन्ध लगाएको हो ।
जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अब खेलाउन नदिने भएको छ ।
माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको थियो । महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध शुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो ।
त्यसैगरी आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिक बजारमा आयोजना गर्नेगरी सैनिक महोत्सवको अनुमति लिन जाँदा जिल्ला प्रशासन कार्यालयले हाउजी खेलाउने अनुमति नदिएको आयोजकले जनाएको छ । हाउजी जुवाजन्य खेल भएको भन्दै चौतर्फी विरोध आएपछि हाउजी खेलाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले भने,‘ अबदेखि जुवाजन्य कुनै पनि खेल खेलाउन अनुमति दिइने छैन ।’
सरकारी बजेट पचाउन र जुवा खेलाउनकै लागि बाक्लै आयोजना गर्ने गरिएका महोत्सवमा हाउजीसँगै सिक्सर , लक्की सेभेनजस्ता जुवाजन्य खेल पनि निर्बाध खेलाउने गरिएको थियो । स्थानीय तहका जनप्रतिनिधिको सिफारिसका कारण हाउजी खेलले झापामा बैधानिक रुप लिएको थियो ।



















