अर्जुनधारा । लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले एक युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
आज दिउँसो करिब १२:५० बजे अर्जुनधारा नगरपालिका–५ कैलाशघाट क्षेत्रमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले मे १ ह २४४३ नम्बरको अटो शंका लागी रोकी जाँच गरेको थियो।
जाँचका क्रममा अटो चालक मोरङ पथरीशनिश्चरे नगरपालिका–५ घर भई हाल अर्जुनधारा–५ बस्ने अन्दाजी २४ वर्षीय सागर दर्जीको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ प्लास्टिक बाहेक २ ग्राम रहेको बताइएको छ।
प्रहरीले दर्जीलाई बरामद लागूऔषध र अटो सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।


















