अर्जुनधारा । शनिश्चरे आधारभूत अस्पतालको न्यूनतम सेवा मापदण्ड सम्बन्धी लेखाजोखा तथा नतिजा सार्वजनिक गरिएको छ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक बिश्वनाथ श्रेष्ठले झापाका १२ वटा आधारभूत अस्पतालको मूल्यांकन गरिएको जानकारी दिए। उनका अनुसार मूल्यांकनका प्रमुख सूचकहरूमा भौतिक पूर्वाधार, औजार–उपकरण र दक्ष जनशक्ति समावेश रहेका छन्।

उनले नेपालमा स्वास्थ्य सेवामा ४४ प्रतिशत खर्च राज्यले व्यहोर्ने र ५६ प्रतिशत निजी क्षेत्रबाट हुने उल्लेख गर्दै शनिश्चरे अस्पतालको सेवा स्तरमा सुधार देखिएको बताए। गत वर्ष ७० प्रतिशत रहेको मापदण्ड अहिले ८१ प्रतिशत पुगेको उनले जानकारी दिए।

श्रेष्ठले अस्पतालमा डेन्टल सेवा सुरु गर्नुपर्ने, गुणस्तर सुधार समिति गठन गर्नुपर्ने तथा अस्पतालजन्य फोहोर व्यवस्थापनमा थप सुधार गर्नुपर्ने सुझाव दिएका छन्।

कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देनले नतिजाप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी वर्ष अझै सुधार हुने अपेक्षा व्यक्त गरे। उनले कर्मचारीको सेवा सुविधा थप गर्ने प्रतिबद्धता समेत जनाए। अस्पतालका प्रशासन विभाग प्रमुख राजविक्रम खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।