झापा  । कचनकवल गाउँपालिका–३ दलकी स्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि आज बिहान स्कुल बस दुर्घटना हुँदा करिब १३ जना विद्यार्थी घाइते भएका छन्।

प्रहरीका अनुसार मिति २०८३ साल बैशाख १७ गते बिहान ९:२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बसले घरबाट सडकमा निस्केको प्र १-०१-०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको टाउको, मुख र बाँया खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बसमा सवार करिब २० जना विद्यार्थीमध्ये १३ जना घाइते भएका छन्। घाइतेमध्ये अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतिक्षा राजवंशी, बर्तिका राजवंशी, सुमन राजवंशी, श्रृजना राजवंशी लगायत रहेका छन्। अधिकांशलाई टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ।

सबै घाइतेलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड पठाइएको छ भने दुई जनालाई अभिभावकले अन्यत्र उपचारका लागि लगेका छन्।

दुर्घटनापछि बस चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। दुबै सवारी साधन प्रहरी चौकी पथरियाको नियन्त्रणमा रहेको छ।