बिर्तामोड । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर क्षेत्रमा छुट्टाछुट्टै स्थानबाट दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

आज साँझ करिब ५:५० बजे मेचीनगर नगरपालिका–६ मेचीपुल क्षेत्रमा भारतको पानीटंकीबाट नेपालतर्फ पैदल आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–४ निवासी ३१ वर्षीय प्रदीप दाहाललाई शंकाको आधारमा जाँच गर्दा खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उनको साथबाट प्लास्टिकसहित ११ ग्राम ३४० मिलिग्राम र प्लास्टिक बाहेक ७ ग्राम ३८० मिलिग्राम पदार्थ बरामद भएको छ।

आजै करिब ५:३० बजे मेचीनगर–६ संगिता टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–१ का २२ वर्षीय सुक्रराज उरावलाई पनि जाँच गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। उनको साथबाट प्लास्टिकसहित ४ ग्राम ७७० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम पदार्थ बरामद गरिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।