बिर्तामाेड । झापाबाट हालसम्मकै ठुलाे परिणाममा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सयुक्त टाेलीले ३०१ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–१२ बस्ने २४ वर्षीय सुदिप विक र सुनसरी रामधुनी नगरपालिका–३ सिंघियाका हिरालाल विक रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोली र नेपाल प्रहरीकाे सयुक्त टाेलीले शुक्रबार साँझ ६ बजे भारतबाट बा. ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर–३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर जाँच गरेका थिए ।
प्रहरीले उनीहरूको शरीर खनतलासीसँगै प्रहरीले स्कुटर पनि जाँच गरेका थिए । प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएकाे छ ।
स्कुटरको ब्याट्री रहने बक्सभित्र लुकाइछपाई राखिएको तीनवटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउन सुगर भेटिएको थियो । उनीहरूले ब्राउन सुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेकाे बताएका थिए ।



















