बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका पशुपंक्षी र मत्स्यपालनमा नगरलाई आत्मनिर्भर बनाउने बाटोमा अग्रसर बन्दै गएको छ । बिर्तामोड नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको करिब आठ वर्षको अवधिमा नगरलाई यस क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा उन्मुख भएको पाइएको हो ।

करिब १ लाख ५० हजार जनसंख्या रहेको बिर्तामोडमा यहाँ उत्पादित माछा मासु र दुधमा नगर आत्मनिर्भर बन्दै गएको छ । यसका साथै नगरले गुणस्तरीय उत्पादनलाई समेत मध्यनजर गरेर विभिन्न कार्यक्रमहरू पनि अगाडि बढाएको बताएको छ । बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्रका पशुहरूलाई नियमित खोपको कार्यक्रम सञ्चालन गरिरहेको छ । जसका कारण गुणस्तरीय उत्पादन समेत भइरहेको जनाइएको छ । गुणस्तरीय उत्पादन भइरहेको छ या छैन भनेर यहाँबाट नमूना तयार गरी केन्द्रीय ल्याब परीक्षण केन्द्रमा पठाउने गरेको समेत जनाइएको छ ।

बिर्तामोड नगरपालिकाले माछापालन गर्ने कृषकहरूका लागि विभिन्न योजनाहरू अगाडि सारेको छ । दक्ष प्राविधिक नहुँदा माछापालन क्षेत्रमा भइरहेको समस्यालाई यसपटकबाट दक्ष प्राविधिक नियुक्ति गरेर व्यवसायिक क्षेत्रमा कृषकहरूलाई अग्रसर बनाउन नगरपालिका सक्रिय रहेको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताएका छन् ।

बिर्तामोडका किसानहरूलाई व्यवसायिकतातर्फ उन्मुख गराउन नगरपालिकाले विभिन्न योजनाहरू अगाडि सारेको छ । जसका कारण पछिल्लो समय युवा पुस्ताले व्यावसायिक पशुपालनलाई जोड दिएको पाइन्छ । बिर्तामोड नगरपालिकाले पशुपंछी शाखा मार्फत किसानहरूलाई प्रत्यक्ष सेवा दिइरहेको छ । चालु आर्थिक वर्षमा ७० लाख रकम पशुपंक्षी शाखाबाट खर्च गरिएको थियो । जसमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको पशुपन्छी शाखाका प्रमुख डाक्टर नरेन्द्र खड्काले बताएका छन् ।

नगरपालिकामा ५६ वटा गाई फर्म हालसम्म दर्ता भएका छन् । ती फर्म तथा दर्ता हुन बाँकी रहेका फर्मका उत्पादनले यहाँको बजार धानेको छ । पाँचवटा भन्दा बढी गाई पाल्ने किसानहरूलाई फर्म दर्ता गर्न सुविधा नगरपालिकाले दिएको छ । गाई फर्म सञ्चालन गर्ने किसानहरूलाई चालु आर्थिक वर्षमा २५ वटा चापकटर वितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ३३० जना किसानलाई सुत्केरी पोषण कार्यक्रम मार्फत सहयोग प्रदान गरेको डाक्टर खड्काले बताएका छन् । सुत्केरी पोषण कार्यक्रममा पशुका लागि चाहिने औषधी लगायत १ हजार ५०० बराबरको सामग्री रहने बताइएको छ ।

डाक्टर खड्काका अनुसार चालु आर्थिक वर्षमा १२ हजार पशुलाई खोरेत विरुद्धको खोप लगाइएको छ । पशुपन्छी शाखाको आर्थिक सहयोगमा चालु आर्थिक वर्षमै २१ वटा कुखुराको खोर निर्माण गरिएको छ भने २२ वटा कुखुरा फर्मलाई सहयोग गरिएको छ । यसैगरी ३३ वटा बङगुर फर्ममलाई पनि प्राविधिक सहयोग प्रदान गरिएका उनले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा १७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ भने विगत १० वर्षमा भने यो संख्या २ हजार ५०० भएको छ । कुकुरहरूको बन्द्याकरण गरी सामुदायिक कुकुरहरूको नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । त्यसैगरी पशुपंछी शाखाले ८० वटा भन्दा बढी गाईहरूलाई काउ लिफ्टरका माध्यमबाट सहज तरिकाले उठाई उपचार गरेको छ । जसका कारण धेरै किसानहरू लाभन्वित भएका छन् । बिर्तामोड नगरपालिकामा भएको काउ लिफ्टरले छिमेकी पालिका अर्जुनधारा तथा कनकाईसम्मका किसान लाभान्वित भएका छन् ।

नगरपालिकाले उत्पादनलाई मात्र नभई बजारीकरणलाई ध्यान दिनुपर्ने डाक्टर खड्काको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण हुने क्रममा रहेको छ । सो कार्यक्रम मार्फत अब उत्पादनलाई बजारसँग जोड्ने नीति तयार गरेर अगाडि बढ्ने नगरपालिकाको योजना रहेको खड्काले बताएका छन् ।

बिर्तामोड नगरपालिका माछा कुखुरा अण्डा र दुधमा आत्मनिर्भर भइसकेको नगरपालिकाको दाबी छ । बिर्तामोड नगरपालिकाले मरेका माछा बिक्री गर्न प्रतिबन्ध समेत लगाइसकेको छ । तर यो काम भने प्रभावकारी हुन सकेको छैन । बिर्तामोड नगरपालिकामा उत्पादित पंघास जातको माछामा भने कोशी प्रदेशभरि नै उत्पादन पुग्ने गरी उत्पादन भइरहेको दाबी गरिएको छ । ग्राहकहरूले विभिन्न स्वाद खोज्ने भएका कारणले यतिखेर अन्यत्र जिल्लाबाट विभिन्न प्रकारका माछाहरू भने आयात भइरहेको नगरपालिकाका जनप्रतिनिधि नै स्वीकार्छन् ।