झापाको अर्जुनधारा क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले अर्जुनधारामा भारतीय सवारी  साधन प्रयोगकर्ता बढेका हुन् । 

ट्राफिक प्रहरीको बेवास्ताले गर्दा स्थानीयले भारतीय नम्बर प्लेट भएका सवारी साधन प्रयोग गरिरहेका हुन् । स्थानीय बासिन्दाहरूका अनुसार, केही महिना यता दैनिकजसो दर्जनौं भारतीय नम्बर प्लेटका गाडीहरू यहाँ सहज रूपमा आवतजावत गरिरहेका छन् । तर त्यस्ता गाडीहरूको अनुगमन र नियन्त्रणमा सरोकारवाला समेत रहेको ट्राफिक प्रहरी निष्क्रिय देखिएको छ। 

स्थानीयवासी रामबहादुर राई भन्छन्, "यी गाडीहरू कुनै नियम पालना गर्दैनन्। ट्राफिक प्रहरीहरु देखेरै बेवास्ता गर्छन्। कतिपयले त लामो समयसम्म लुकाएर गाडी नेपालमै राखेका छन्। 

नेपालको कानुन अनुसार, भारतीय नम्बर प्लेटका गाडीहरू नेपालमा १५ दिनसम्म मात्र राख्न पाइन्छ। सो अवधिपछि थप समय आवश्यक भएमा सम्बन्धित भन्सार कार्यालयमा शुल्क तिरी अनुमति लिएर अधिकतम ६ महिना (१८० दिन) सम्म नेपालमै राख्न सकिन्छ। 

तर अर्जुनधारा–सनिश्चरे क्षेत्रमा नियमको यस्तो पालना हुन छोडेको देखिन्छ। यता, चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी नियम पनि यहाँ उल्लङ्घन भइरहेका छन्। प्रचलित ट्राफिक ऐन अनुसार, नेपाली नागरिकले भारतीय नम्बर प्लेटको गाडी चलाउन चाहेमा अनिवार्य रूपमा भारतीय ड्राइभिङ लाइसेन्स हुनु आवश्यक हुन्छ। तर केही नेपालीले भारतीय लाइसेन्स वा बिना लाइसेन्स नै गाडी चलाउने गरेको पाइएको छ। 

स्थानीय व्यापारीहरु र सर्वसाधारणले यस अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सडकमा ट्राफिकको उपस्थिति कमजोर भएको र अवैध सवारी व्यवस्थापनमा गम्भीर बेवास्ता भएको आरोप लगाएका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पोडेलले भारतीय सवारी साधनको पटके काटेर नेपालमा सञ्चालन गर्न सकिने बताए । उनले जुन देशमा दर्ता भएको सवारी साधन छ, सोही देशको चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने जनाए । अर्जुनधाराका स्थानीयले भारतीय सवारी साधनको प्रयोग गरिरहेको बारेमा आफुले पनि सुनेको बताउँदै उनले ट्राफिक प्रहरीले त्यसलाई नियन्त्रणमा लिने जानकारी दिए । 

स्थानीयवासीहरू भने तत्काल निरीक्षण, अनुगमन र कडाइको माग गर्दै छन्। यदि प्रशासनले यथाशीघ्र ध्यान नदिए, विदेशी सवारीको अव्यवस्थित सञ्चालनले दुर्घटना, कर छली, र सीमा सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।