बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) झापाले आज सबै सवारी सडकमा निकालेर विरोध प्रर्दशन गर्ने भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएपछि विधेयकका केही बुँदा संशोधनको मागसहित प्याब्सन केन्द्रिय समितिको निर्णयअनुसार आन्दोलनको तयारी गरिएको हो ।

प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार जिल्लाका सबै स्थानीय तहमा र्‍याली, कोणसभा र प्रतीकात्मक प्रदर्शन गरिनेछ । उनका अनुसार बिर्तामोडमा सवारी साधनमा व्यानर र कालो झण्डासहित नगर परिक्रमा, मेचीनगरमा धुलाबारीदेखि काँकडभिट्टासम्म र्‍याली, भद्रपुरमा सोमबारेदेखि चन्द्रगढीसम्मको ¥याली, अर्जुनधारामा शनिश्चरे बजारदेखि नगरपालिका कार्यालयसम्मको प्रदर्शनसहित कोणसभा सञ्चालन हुनेछ ।

यस्तै दमकमा बेलडाँगी रोड हुँदै पशुहाट चोकसम्म कोणसभा, गौरादहमा नगरपालिका परिसरमा विरोध कार्यक्रम, कनकाईमा सुरुङ्गा बजारदेखि नगरपालिकासम्म र्‍याली, कमलमा केरखा बजार परिक्रमा, शिवसताक्षी, हल्दिवारी, गौरीगञ्ज, बुद्धशान्ति र झापा गाउँपालिकासमेत विभिन्न स्थानमा सभा गर्ने तालिका रहेको प्याब्सनले जनाएको छ ।