बिर्तामोड । झापाको दमकमा धानको लार जलाउँँदा गोठमा आगलागी भएको छ ।

हिजो दिउँसो धान कााटेर बाँकी रहेको लारमा आगो लगाउने क्रममा  गोठमा आगलागी भएको हो । आगलागीका कारण एउटा गर्भवती गाई पनि जलेर मरेको प्रहरीले जनाएको छ ।

दमक-१० सगरमाथा टोल बस्ने केशब भण्डारीले घर नजिकै रहेको खेतमा धानको लारमा आगो लाउने क्रममा उक्त आगो फैलिएको थियो ।

सोही क्रममा नजिकै रहेको परालको कुन्युमा आगो सल्किएर नजिकै रहेको गोठमा आगो लागेको थियो । गोठमा रहेको एउटा गर्भवती गाई जलेर मरेको छ भने अर्को गाई घाइते भएको छ ।

उक्त आगो स्थानीयवासी, प्रहरी, दमक र उर्लाबारी नगरपालिकाको दमकलको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट ८ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।