बिर्तामोड । भदौ २३ र २४ गते झापामा भएको जेनजी आन्दोलनमा लुटपाट, तोडफोड र आगजनीमा संलग्न बिरुद्ध किटानी जाहेरी परेका अधिकांस अभियुक्तहरुलाई हालसम्म प्रहरीले पक्राउ गरेको छैन । पीडित पक्षले किटानी गरेका ब्यक्तिहरु सार्वजनिक स्थानमा खुलेआम हिडडुल गरिरहेपनि प्रहरीले वास्ता नगरेको पीडित पक्षको आरोप छ ।

हालसम्म किटानी जाहेरी परेका १०२ जना अभियुक्त अझै फरार छन् । प्रहरीले ४७ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका अधिकांस अभियुक्त प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न रहेको बुझिएको छ ।
अहिलेसम्म पक्राउ गरेका अधिकांस प्रहरी कार्यालय लुटपाट, तोडफोड, आगजनी, प्रहरीमाथि आक्रमणमा संलग्न, प्रहरीको हतियार तथा बन्दोबस्तीका सामग्री लुटपाट तथा प्रहरी हिरासतमा रहेका थु्नुवा भगाउने अपराधमा संलग्न रहेको पाइएको छ ।
आन्दोलनकारीको तारो भएका जनप्रतिनिधि, व्यवसायी, कर्मचारी तथा उनीहरुका निजी सम्पती र सरकारी संरचनामा तोडफोड, लुटपाट र आगजनीमा संलग्न अभियुक्तलाई भने हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । झापा जिल्ला सरकारी वकिल कार्यालयका अनुसार ‘आपराधिक उपद्रब’ मा ४१ वटा म्द्दा दर्ता भएका छन् । घटना भएको मितिले हद म्याद ६ महिनासम्म हुने भएकोले फागुन २४ गतेसम्म मुद्दा दर्ता गर्न पाउने कानुनी प्रावधान छ ।
तर, ६ महिनाभित्र दर्ता भएको मुद्दामा भने अहिले पनि पुरक अभियोजनमा अभियुक्तको नाम थप गर्न पाइने उल्लेख छ । पुरक अभियोजन अन्तर्गत पछि पनि अभियुक्त पक्राउ गर्न सकिने कानुनी प्रावधान भने छ ।
जेनजी आन्दोलनको समयमा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको थियो । जस अनुसार स्थानीय तहका १२ वटा भवन, ५५ वटा वडा कार्यालय भवन, १० वटा संघीय सरकारको कार्यालय, ३ वटा प्रदेश सरकारको कार्यालय, दमक भ्यु टावर र बिभिन्न राजनीतिक दलका कार्यालय तथा ब्यक्तिका निजी घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।
आन्दोलनमा संलग्न अधिकांस युवा युवती लागूऔषध दुब्र्यसनी रहेको पक्राउ परेका अभियुक्तको पुरानो रेकर्डबाट थाहा हुन्छ । प्रहरीले पक्राउ गरेकामध्ये ८० प्रतिशतभन्दा बढी अभियुक्त लागूऔषध मुद्दामा जेल परेर छुटेका, चोरी तथा डाका मुद्दामा जेल परेका, केही सोही मुद्दामा फरार रहेका ब्यक्तिहरु रहेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख बिजय श्रेष्ठले बताएका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीले कार्तिक २१ गते अर्जुनधारा–७ का सुरज राईलाई लागूऔषधसहित पक्राउ गर्याे । उनका बारेमा अनुसंधान गर्दा अर्जुनधारा–६ मा डेरा लिएरै देशभर आपराधिक सञ्जाल चलाउने गिरोहको नाइके रहेको फेला पर्याे । उनकै बयानका आधारमा प्रहरीले नवराज राईलाई भक्तपुरमा पक्राउ गरेर बिर्तामोड ल्यायो । राईलाई झापा ल्याएपछि पुजा मगर, निमा शेर्पा, अनिष चौधरी, बिशाल राई लगायतलाई प्रहरीले पक्राउ गर्न सफल भयो । यो टिम झापाबाट लागूऔषध काठमाण्डौसम्म पठाउने गिरोह भएको दावी प्रहरीको छ ।
पक्राउ परेकामध्ये डरलाग्दो यो गिरोहलाई दर्जन बढी मुद्दा लागेको प्रहरीको भनाई छ । यो गिरोहमाथि हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, थुनुवा भगाएको, लुटपाट, चोरी, डाका, लागूऔषध कारोबार लगायतका मुद्दा दर्ता भएको छ ।
उनीजस्तै दमकका दर्जनौ स्थानमा आगजनी, लुटपाट, थुनुवा भगाउने, प्रहरीको हतियार खोस्ने लगायतका अभियुक्त मेचीनगर नगरपालिका–१२ चारआलीका मुकेश शर्मा हालसम्म फरार छन् । उनी यसअघि पनि आपराधिक सञ्जाल सञ्चालन गर्ने प्रहरीको सुचीमा छन् ।
‘प्रहरीसँग कुनै न कुनै रुपमा असन्तुष्ठ समूहले प्रहरी कार्यालय र प्रहरीहरु माथि आक्रमण गरेको देखिन्छ, जिल्ला प्रहरी कार्यालय झापाका एकजना प्रहरी अधिकारीले भने–‘केहीले चाहि बिभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा बसेका आफन्त छुटाउन आक्रमण गरेका छन् ।’
नेकपा एमालेको अर्जुनधारास्थित पार्टी कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेको अभियोग लगाउँदै अध्यक्ष बृख प्रधानले सोही स्थानका चारजनाको नाम कटिान गरेर जाहेरी दिएका छन् । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गिरीले बिर्तामोडका पार्टी कार्यालय र सँगै जोडिएको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यालयमा लुटपाट, तोडफोड तथा आगजनी गरेको अभियोगमा तीनजनामाथि मुद्दा चलाएका छन् । उनीहरुले किटानी जाहेरी दर्ता गरेका अभियुक्तलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरी तथा प्रहरी कार्यालयमा आक्रमण गर्ने पहिचान भएका अभियुक्तलाई भने प्रहरीले पक्राउ गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले आन्दोलनको समयमा राजनीतिक दलका नेता कार्यकर्ता तथा कर्मचारीहरुका भौतिक सम्पतीमाथि आगजनी गर्ने अभियुक्तलाई पक्राउ गरेर कानुन बमोजिम कारवाही गर्ने बताईन् । उनले प्रचलित कानुन बमोजिम कारवाही गर्न कुनै कसर बाँकी नराखिने दावी गरिन् । तर, झापामा उनले कमाण्ड समालेपछि सो घटनाका कुनै पनि अभियुक्त पक्राउ परेका छैनन् ।
पीडितहरुले अभियुक्त पक्राउ गर्न प्रहरीले गरेको ढिलासुस्तीप्रति आशंका व्यक्त गर्न थालेका छन् । नेकपाका स्थानीय नेतासमेत रहेका दमकका गगन पुरीले गृहमन्त्रीले २३ गतेको आन्दोलनलाई दवाएको बिषयमा कारवाही प्रक्रिया सुरु गरेको तथा २४ गतेको घटनालाई नजरअन्दाज गर्न खोजेको आरोप लगाए । उनले केही समयको धैर्यतालाई कमजोरीका रुपमा बुझिए उत्पन्न हुने परिस्थितीको सामना गर्न तयार रहनसमेत चेतावनी दिए ।
यता, बिर्तामोडमा रहेको भाटभटेनी सुपर स्टोर, इश्वरीप्रसाद शिवाकोटीको घर, बिर्तामोड नगरपालिका र मातहतका वडामा आगजनी गर्ने अभियुक्तको पहिचान नभएका कारण कारवाही प्रक्रिया अघि नबढ्ने भएको जिल्ला सरकारी वकिल कार्यालय झापाका सहायक न्यायधिवक्ता सन्दिप टेलरले बताए ।
भदौ २४ गते भएको प्रदर्शनमा तीनजनाको मृत्यु भएको थियो । पाँचथरका कमल भण्डारी, अर्जुनधारा–११ का गोपाल सेढाई र अर्जुनधारा–८ का दिनेश राजबंशीको मृत्यु भएको थियो । घटनामा सयौं प्रदर्शनकारी र प्रदर्शनकारीको आक्रमणमा केही प्रहरी घाइते भएका थिए ।
















