बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–४ मा झ्यालबाट लड्दा एक बालिकाको मृत्यु भएको छ।
आज बिहान करिब ०८:३० बजेको समयमा ताप्लेजुङ फुङलिङ नगरपालिका–३ घर भएका हेमसागर भट्टराई बस्दै आएको डेरा कोठामा पाहुनाका रूपमा आएकी झापा दमक नगरपालिका–४ बस्ने मनोज आचार्यकी ५ वर्षीया छोरी मानस्वी आचार्य खेल्ने क्रममा तेस्रो तलाको कोठाको झ्यालबाट खसेकी थिइन्।
गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सि अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०:५५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ।
















