बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको स्वीप अपरेशन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको अभियानका क्रममा ३६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका २९ जना पुरुषलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध ब्राउन सुगर (हेरोइन) जस्तो देखिने पदार्थ प्लास्टिकसहित करिब १०.१९८ ग्राम बरामद भएको छ।

नियन्त्रणमा परेकामध्ये ५ जनाको साथबाट विभिन्न परिमाणमा ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये अर्जुनधारा, कमल, हल्दीबारी, बिर्तामोड (झापा) तथा सूर्योदय नगरपालिका (इलाम) का व्यक्तिहरू रहेका छन्।

प्रहरीले नियन्त्रणमा परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साथै लागुऔषध सेवनकर्तालाई मनोपरामर्श सेवा उपलब्ध गराई आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनःस्थापना केन्द्रमा पठाउने कार्यसमेत भइरहेको बताएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।