झापा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका एक कैदीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२, धुन्सेसाँघुका २७ वर्षीय राजकुमार लिम्बू रहेका छन्।
लिम्बू जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाअनुसार १८ वर्ष कैद, पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय भुक्तान गरिरहेका थिए।
प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएका थिए। त्यसपछि झापा आएर दमक नगरपालिका–६ मा लुकिछिपी बस्दै आएको अवस्थामा प्रहरीले खोजी थालेको थियो।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनलाई २०८३ असोज ३ गते राति ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका लिम्बूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।




















