झापा । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट महिलाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान् पक्राउ परेका छन्।
प्रहरीका अनुसार ५८ वर्षीय गन्दु राम राईले घरायसी विवादका क्रममा आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईको गर्दनमा सिकल प्रहार गरेका थिए। घटना हुँदा गन्दु रामले मादक पदार्थ सेवन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
आज राति करिब १२ः३० बजे घटना भएको हो। सिकल प्रहारबाट गम्भीर घाइते भएकी बिमलालाई प्रहरीको टोलीले तत्काल नगर अस्पताल बेल्टार पुर्याएको थियो। उपचारकै क्रममा उनको राति मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि गन्दु राम आफैं अस्थायी प्रहरी पोस्ट माडिबास पुगेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।




















