बिर्तामाेड । झापाको अर्जुनधारा ९ काे नमुना खेलमैदानमा आयोजना हुने नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ । नमुना सामुदायिक युवा क्लब अर्जुनधाराले आयोजना गरेको प्रतियोगिता दुई वटा विदेशी टिमसहित ८ टिम सहभागी हुनेछन् ।


प्रतियाेगितामा आयोजकसँगै भारत र अमेरिकाको १-१ वटा टिम र ललितपुर, सुनसरी, मोरङ, इलाम र झापाको टिमले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा इलामको रेडहर्ष एफसी, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, मोरङको डाँगीहाट एफसी, सुनसरीको एन्फा एकाडेमी धरान, आयोजक नमुना सामुदायिक युवा क्लब, ललितपुरको सुनाकोठी सिटी एफसी, भारतको एबीसी एकाडेमी र अमेरिकाको बीवाईसी रहेका छन् । 

प्रतियोगिताको उद्घाटन खेलमा एन्फा एकाडेमी धरानले मोरङको डाँगीहाट एफसीसँग खेल्नेछ । दोस्रो खेलमा ध्रुवतारा स्पोर्टिङ क्लबले ललितपुरको सुनाकोठी सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, तेस्रो खेलमा आयोजक नमुना सामुदायिक युवा क्लब र भारतको एबीसी एकाडेमी आमने सामने हुनेछन् । अन्तिम क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलाम र भुटनिज युथ स्पोर्टस अमेरिकाबीच खेल हुनेछ । 

प्रतियोगिता सम्पन्न गर्न १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष आर.के. महतराले जानकारी दिएका छन् । प्रतियोगिताबाट बचत भएकाे रकम स्थानीय विद्यालयमा अध्ययनरत कक्षा ५ मुनिका विद्यार्थीलाई फुटबल प्रशिक्षणमा खर्च गरिने बताइएको छ ।

पुस ७ गते सम्पन्न हुने फाइनल खेलको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ रुपैयाँ र ट्रफी पाउने जानकारी दिए । यस्तै, खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद २ हजार र उत्कृष्ट खेलाडी, बेस्ट डिफेन्स, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डको व्यक्तिगत विधातर्फ पनि नगद पुरस्कार राखिएको आयोजकका सचिव सुरेन्द्र गिरीले जनाए ।