बिर्तामोड । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औ बार्षिक साधारणसभाको पुर्वसन्ध्यामा प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिवेदन सार्वजनिक गरेको हो ।
पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्थाका रुपमा दरिएको समेत सहाराका सञ्चालकको भनाई छ । पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले सहारा मुलुककै पहिलो र उत्कृष्ट संस्था भएको दावी गरेका छन् ।
गिरीले सहारा नेपाल साकोसले आर्थिक वर्ष २०७८÷०७९ मा ४९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको जानकारी दिए । यसबाट सदस्यलाई लाभांश र संरक्षित पुजी फिर्ता कोषबाट ३० करोड १५ लाख वितरण गरिनेछ । संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोचअुनुरुप मिसन–०८८ सम्मको रणनीतिक योजना निर्माण गर्दै एक खर्ब रुपैयाँको वासलात बनाउने लक्ष्य तय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
असार मसान्तसम्म संस्थाको ७९ वटा सेवा केन्द्रमा १ लाख ६० हजार ४६० जना शेयर सदस्यहरु संस्थामा आबद्ध छन् । त्यस्तै, संस्थाको शेयर पुँजी १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ११ करोड ११ लाख रुपैयाँको रहेको छ । ०७९ असार मसान्तसम्म संस्थाको वासलात १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख, लगानीमा रहिरहेको ऋण १३ अर्ब, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको गिरीले जानकारी दिए । गिरीले विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेको जटिल परिस्थितिमा पनि संस्थाले सहज ऋण लगानी र सदस्यहरुको बचतको पूर्ण सुरक्षा प्रदान गर्दै आएको बताए ।
संस्थाले विगतका सदस्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नयाँ थप कार्यक्रमहरु विश्वस्तरमा सञ्जाल निर्माण गर्ने, रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल, सामाजिक व्यवसाय सञ्चालन र अति विपन्न गरिबलाई माथि ल्याउन पहल जस्ता कार्यक्रम प्रस्ताव गरेको छ । संस्थाले यस वर्ष आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबुत बनाउने हिसाबले कार्यक्रम अघि सारिएको छ ।



















