बिर्तामाेड । मिस तामाङ वर्ल्ड फाउण्डेसनकाे आयाेजनामा मिस तामाङ  वर्ल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल र भारतका युवतीहरु सहभागि हुने फाउण्डेसनका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आयोजकले तामाङ जातिको धर्म, कला, संस्कृति, भाषा, वेशभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेकाे बताएको छ । मोक्तानले विगतमा मिस तामाङ प्रतियोगिता हुँदै आएको भएपनि गतबर्षदेखि संसारभरिका तामाङ युवतीको प्रतिनिधित्व गराउनका लागि मिस तामाङ  वर्ल्ड गर्न थालिएको बताए ।

miss tamang

मिस तामाङ  वर्ल्ड विजेतालाई विश्वभरिकै मिस तामाङ सुन्दरी मानिने उनले बताए । प्रतियोगितामा सहभागीका लागि तामाङ जातिको १६ देखि २८ वर्ष उमेर समूह, कम्तीमा १२ कक्षा उत्तीर्ण युवती हुनुपर्ने उल्लेख छ ।

यसबर्ष भारतको सिलिगुडीस्थित जे डब्ल्यु मेरियट होटलमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । बिषेशगरी नेपाल र भारतका युवतीको यस प्रतियोगितामा सहभागिता रहने बताइएको छ । मिस तामाङ  वर्ल्डको टाइटल बिजेता प्रतियोगिले टाइटलसहित १० लाख रुपैंयाँ तथा बिभिन्न कम्पनिबाट उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यसैगरी बिभिन्न ७ वटा बिधामा सहभागिलाई नगदसहित पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताका लागि भारतबाट ३० र नेपालबाट ६५ जनाले आवेदन दिने अपेक्षा आयोजकको रहेको छ । लगभग १ सय सहभागिमध्येबाट यसबर्षको मिस तामाङ  वर्ल्ड छनौट गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ४ लाख रुपैंयाँ खर्च हुने प्रारम्भिक अनुमान आयोजकको छ । 

कार्यक्रममा झापा क्षेत्र नम्बर १ का प्रदेश सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङवो, आयोजक संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।