झापा । बिर्तामोड नगरपालिका २ लालमाटीमा रहेको ॐ काष्टिङ्ग उद्योगले ह्याण्ड पम्पको उत्पादन बढाउँदै लगेको छ । बजारको माग र आवश्यकतालाई ध्यानमा राख्दै उद्योगले २ बाट बढाएर ५ प्रकारका ह्याण्ड पम्प (पानी तान्ने कल) उत्पादन गर्न थालेको हो ।
यस अघि ॐ र ओसीयू उत्पादन हुँदै आएको यस उद्योगमा अब सिंगुर, नेपाल र एचएलसी थप गरी ५ वटा ब्राण्डमा उत्पादन सुरु गरेकाे सञ्चालक अर्जुन मैनालीले जानकारी दिए । कम्पनिले १२ देखि २२ केजी तौल समुहमा ह्याण्ड पम्प उत्पादन गरिरहेकाे जनाएको छ । विगत ३ वर्ष देखि सञ्चालनमा रहेको उद्योगले विभिन्न साइजका पुल्ली, व्यारिङ्ग चेक भल्ब, मोटर व्यारिङ्ग चेक भल्ब,सिआई निप्पल,पोलिसिङ्ग रोलर,कुटी मेशिनको दाँती, एडेप्टर, जिआई पाइप लगायतका सामाग्री उत्पादन गर्दै आएको छ ।
उद्योगले अर्डर अनुसार मेशिनरी सामाग्री उत्पादन गर्दै आएको सञ्चालक खेमराज कडरियाले जानकारी दिए । उद्योगले झापा, मोरङ्ग, सुनसरी, जनकपुर, विरगञ्ज लगायत तराईका जिल्लामा बढीमात्रामा उत्पादन सामाग्री पठाउँदै आएको छ । आर्थिक मन्दीका कारण व्यापारमा केहि कठिनाई भएपनि पछिल्लो दिनमा सुधार हुँदै आएको सञ्चालक कडरियाले बताए । इलेक्ट्री फर्नेस प्रविधिबाट सञ्चालित उद्योगमा नेपाली र भारतीय गरी ७० जनाले रोजगारी पाएका छन् ।



















