बिर्तामोड । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्री ढुवानीमा नयाँ नियम अघि सारेको छ । सडकमा असुरक्षा बढेको भन्दै नगरले नदीजन्य सामग्री ढुवानीमा कढाई गर्ने भएको हो ।
ब्यवसायीले अब नदीजन्य सामग्री नगरका सडकबाट पानी चुहाउदै ढुवानी गर्न पाउने छैनन् । यसअघि ब्यवसायीले त्यो प्राबधान पालना गर्नु परेको थिएन ।
खासगरी ट्याक्टर र टिपरले नदीजन्य सामग्री ढुवानी गर्दा वानी जम्मा हुने प्रविधि जडान गर्नु पर्नेछ । नगरप्रमुख बलदेब सिंह गोम्देनले भने-यो प्रविधि जडानका लागि ब्यवसायीलाई तीन महिनाको समय उपलब्ध गराएका छौ । त्यस अवधिमा उहाँहरुले यो काम गरेर नगरपालिकाको योजनामा सहयोग गर्ने छन् । अन्यथा हामीले ट्रफिक प्रहरीलाई यश बारेमा जानकारी गराएका छौ । ट्राफिक प्रहरीले नियमन गर्छ ।
निर्माण ब्यवसायी भवानी बरालले सडक, ब्यवसायी र सुरक्षाका लागि यो प्रविधि प्रभावकारी हुने बताए । यसका लागि धेरै रकम नलाग्ने भन्दै बरालले सबै ब्यवसायीले यो नियम पालना गर्ने बताए ।
अर्का ब्यवसायी चन्द्र गौतमले पनि असोज पहिलो सातादेखि सामग्री ढुवानी गर्दा नगरले अघि सारेको नयाँ नियम पालना गरिने बताए । कार्यक्रममा ट्याक्टर ब्यवसायी सङघका अध्यक्ष इन्द्रबहादुर मगर, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविन जोशी लगायतले बोल्दै सडकको स्थायित्वको लागि अघि सारिएको यो योजना प्रभावकारी रहने बताएका थिए ।



















