बिर्तामोड । झापाको बिर्तामोडमा रहेको प्रशंसा बेकरीले म्याद गुज्रिएको पाउरोटी बिक्री गर्ने गरेको पाइएको छ । 

20230604_110757

बेकरीले उत्पादन गरेर बजार पठाइएको र म्याद गुज्रेर फिर्ता आएको पाउरोटीसमेत आफ्नै काउण्टरबाट बिक्री गर्ने गरेको पाइएको हो । सोही बेकरी उद्योग नजिकै घर भएकी एकजना बालिकालाई आइतबार बेकरीले कुहिएको पाउरोटी बिक्री गरेको थियो । 

बालिकाकी आमा कविता संग्रौलाले उद्योगमा जानकारी गराउँदा उद्योग सञ्चालक रमेश राजबंशीले आफुलाई नै गाली गलौज गरेको बताइन् । राजबंशीले जे गर्न सक्ने हो, गर भन्दै धम्की दिएको उनले गुनासो गरिन् । सञ्चारमाध्यममा जानकारी गराउँछु भनेपछि राजबंशीले अर्काे पाउरोटी दिंदै लिएर जान अनुरोध गरेको समेत संग्रौलाले बताइन् । 

‘मनिङ फ्रेस मिल्क ब्रेड’ नामको पाउरोटीको डेट एक्सपायर भएको अवस्थामा सग्रौलाले फेला पारेकी थिइन् । उनले मिति गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने प्रशंसा बेकरीमाथी कारवाही गर्न मागसमेत गरेकी छन् । 

यता उद्योग सञ्चालक राजबंशीले भने आफु उद्योगमा नभएको बेला कर्मचारीले म्याद गुज्रिएको पाउरोटी बिक्री गरेर गल्ती गरेको स्वीकार गरेका छन् । उनले आफु अर्के तनाबमा रहेको बेला उद्योगका कर्मचारीले बजारबाट फिर्ता आएको पाउरोटी बिक्री गरेको हुनसक्ने बताए । उनले पाउरोटी खरिद गर्ने संग्रौलासँग गल्ती स्वीकार गरिसकेको हुनाले ठुलो बिषय नबनाइदिन आग्रह गरेका छन् । अखाद्य बस्तु बिक्री भइरहँदासमेत सम्बन्धित निकायले भने अनुगमन र कारवाहीको प्रक्रिया अगाडि बढाएको छैन । चाडपर्वको बेला मात्र अनुगमन गर्ने परम्पराका कारण उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको हो ।