बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । ७ वटा प्रदेश र आयोजक समिति गरी ८ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमीले ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।
received_2196854457318939

आयोजक टिमका पुरुषतर्फ ५० केजी तौल समुहमा खेलेका आषिश उप्रेती, ६७ केजी तौलका दिपक कोइराला, महिलातर्फ ४० केजीकी राजुरानी अधिकारी, ५० केजीकी मनिषा ढुङगाना र ६१ केजीमा खेल्ने पुजा चौधरीले स्वर्ण पदक जितेका थिए । त्यसैगरी ४५ केजी तौल समुहकी प्रियङका राई र ६५ केजी माथिकी मेनुका मगरले रजत पदक प्राप्त गरेका छन् । 
दोस्रो हुने बाग्मती प्रदेशले समान ५ स्वर्ण र २ कांस्य पदक हात पारेको छ । बाग्मतीका पुरुषतर्फ ६० केजी तौल समुहका अनिल उपरकोटी, महिलातर्फ ४५ केजी तौलकी जमुना तामाङ्ग, ५५ केजी तौल समुहकी सञ्जिवनी कार्कीले स्वर्ण पदक जितेका छन् । त्यसैगरी बाग्मतीले शनिबार सम्पन्न खेलको कातातर्फका दुबै पदक हात पारेको थियो । बाग्मतीका लागि ५५ केजीका सरोज माझी र ७५ केजीमाथिका सुरज मगरले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकीले दुईवटा स्वर्ण र एउटा कांस्य पदक हात पारेको छ । गण्डकीका ५५ केजी तौल समुहका अंकित गुरुङ र ७५ केजी माथिको तौल समुहका सजल बुढाथोकीले स्वर्ण जितेका हुन् । त्यसैगरी गण्डकीका लागि ६५ केजीमाथिको तौल समुहकी सिमरन राईले कांस्य पदक प्राप्त गरेकी छन् । 
प्रतियोगिताको चौथो स्थान कोशी प्रदेशले प्राप्त गरेको छ । कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कांस्य पदक हात पा¥यो । कोशीका ७५ केजी तौल समुहका राजिब खड्काले स्वर्ण जितेका हुन् । रजतपदक ७५ केजी माथिको तौल समुहका रोशन धामी, ५० केजीका अंकित भेटवाल, ५५ केजी तौल समुहकी सञ्जिता लेप्चा र कातातर्फ करुणा राईले जितेका छन् । कोशीका ६० केजीका शाहिल घिमिरे र ६१ केजी तौल ुमहमा खेलेकी समिक्षा लेप्चाले काँस्य पदक हात पारेका छन् । 
त्यसैगरी लुम्बिनी प्रदेश ५ औं स्थानमा रहेको छ । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ । लुम्बिनीका ६५ केजी तौल माथिकी दिया थापाले स्वर्ण जितेकी छन् । रजततर्फ ४० केजीकी शुशिला चौधरी, ६० केजीका याम बरुवाल र कातातर्फ रविन्द्र सुनारले पदक जितेका छन् । 
सुदुरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कांस्यपदक जित्दै छैटौ स्थानमा रहेको छ । सुदुर पश्चिमका ४५ केजी तौल समुहका प्रेम कार्कीले स्वर्ण, ५५ केजीका आषिश सेजुवाल र ६१ केजी तौल समुहकी सोनियाँ तिरुवाले रजत पदक हात पारेका छन् । कांस्यतर्फ भने ७५ केजीका रमेशसिंह ठगुन्ना, ६७ केजीका रियाज कुँवर, ५५ कजीकी रिया पुजारा, ५० केजीकी उर्मिला ऐर, ४० केजीमा खेल्ने अञ्जली सापकोटा र कातातर्फ रोहित तामाङ्गले कास्यपदक प्राप्त गरे । 
स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेशले सातौ र आठौ स्थानमा रहेका छन् । मधेस प्रदेशले ३ रजत र ३ कांस जितेको छ । मधेसका ७३ केजीका पंकज शर्मा, ४५ केजीका राहुल मण्डल र ५० केजी तौल समुहकी सबिना दियालीले रजत पदक हात पारेका छन् । ५० केजीका उज्वल परियार, ४५ केजीकी सिमरन शाह र कातातर्फ सबिना दियालीले नै कांस्य पदक प्राप्त गरिन् । 
कर्णाली प्रदेशले १ रजत र १ कांस्य पदक जितेको छ । कर्णालीका ६७ केजी तौल समुहका सन्दिप बिकले रजत र ४५ केजी तौल समुहका मिलकुमार राईले कांस्यपदक हात पारेका छन् । प्रतियोगितामा स्वर्ण पदक जित्नेले १० हजार, रजत पदक पाउनेले ७ हजार र कांस्य पदक पाउनेले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको आयोजक कमिटीका मदन उप्रेतीले जानकारी दिए । 
शनिबारदेखि शुरु भएको प्रतियोगितामा ७ प्रदेश र आयोजकको एकसहित ८ टिमको सहभागिता रहेको थियो । देशभरका १२० भन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले गरेका थिए ।