बिर्तामोड । बिर्तामोड नगरपालिकाले पास गरेको घरको नक्सा भन्दा बाहिरका संरचना हटाउने भएको छ । नगरपालिकाले शुक्रबार सूचना प्रकाशन गर्दै नक्सा पास गरेभन्दा बाहिर निर्मित संरचना हटाउने भएको हो ।

सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर निर्माण गर्दा पास गरेकाे नक्सामा नदेखाइएका संरचना खाली गर्न नगरपालिकाले ३५ दिनको समयसिमा तोकेको छ । नक्सा पास भएपछि ब्यापारिक तथा बिभिन्न प्रयोजनले थप गरिएका संरचना हटाउन नगरपालिकाको आग्रह छ ।
घर निर्माण भएपश्चात कतिपय घरधनीले सडक तर्फ जमिन मिचेर सिंढी, बरण्डा तथा पर्खाल खडा गरेका छन् । त्यस्ता संरचना तोकिएको समयभित्र हटाउन नगरले आग्रह गरेको जनाएको छ ।



















