बिर्तामोड । स्वास्थ्य उपचारको हब बन्दै गएको बिर्तामोडमा नेपाल टुरिजम बोर्डको आयोजनामा ‘हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम’ आयोजना हुने भएको छ । 

चिकित्सा पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यबसायीहरुलाई एउटै छानामुनी ल्याउने उद्देश्यले बिर्तामोड नगरपालिकासँगको सहकार्यमा हेल्थ टुरिजम प्रोमोशन प्रोग्राम आयोजना हुने भएको हो । आगामी असार १६ गते हुने कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यबसायी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहने निश्चित भएको छ । 

कार्यक्रमले स्वास्थ्यसेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत बिभिन्न सरोकारवालालाई फाइदा पुग्ने अपेक्षा गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स संघ(नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदय श्रेष्ठले बताए । बिर्तामोडको आदर्श ब्याङक्वेटमा आयोजना हुने कार्यक्रमले व्यापारका अवसरहरु बिकास गर्ने र साझेदारी गठन गर्ने प्लेट फर्मका रुपमा काम गर्न सक्ने जनाइएको छ । 

पर्यटन व्यवसायीहरुले चिकित्सासेवा प्रदायकहरुसँग सहकार्य गरेर चिकित्सा पर्यटन प्याकेजहरु बनाउन सक्ने र आफ्नो नेटवर्कहरुमा प्रचार प्रसार गर्न सक्ने नाट्टाका महासचिव नविन खरेलले बताए । यस कार्यक्रमले भारतीय बिरामीहरुलाई नेपालका अस्पतालमा उपचार गर्न आउने वाताबरण बन्ने जानकारी उनले दिए । बिषेशगरी झापाका आँखा अस्पतालमा भारतीय बिरामीको भिड लाग्ने गरेको छ । 

कार्यक्रमका लागि हालसम्म ३३ वटा स्टल बुकिङ भइसकेको भन्दै उनले एकदिने सो कार्यक्रममा ५० वटा स्टल रहने जानकारी दिए । कार्यक्रम आयोजना गर्न ५ लाख रुपैयाँको बजेट अनुमान गरिएको छ । कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, चिकित्साकर्मी र सञ्चारकर्मीकोसमेत सहभागिता रहने जनाइएको छ । 

कार्यक्रम अवलोकन गर्न आउने अवलोकनकर्तालाई महोत्सबबाटै प्राथमिक उपचार र औषधी समेत निशुल्क वितरण गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।