झापा । मलेसियामाथि २ सय २१ रनको फराकिलो जित निकाल्दै नेपाल एसिसी मेन्स यू-१६ इस्ट रिजन कप २०२३ को च्याम्पियन बनेको छ ।

यससँगै नेपालले उपाधिकमा ह्याट्रिक गरेको छ । नेपालले यसअघि सन् २०१७ र २०१९को फाइनलमा सिंगापुर र मलेसियालाई हराएको थियो । बायोमस ओभलमा मंगलबार सम्पन्न फाइनलमा नेपालले जितका लागि प्रस्तुत गरेको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमै समेटियो ।

मलेसियाका लागि महम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।  

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित मात्र ७ रन खर्चिदै ५ विकेट लिए । यसैगरी सन्तोष यादवले ३ तथा सागर गैरे र अशोक धामीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले नरेन भट्टको शतकमा निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रनको योगफल तयार पारेको थियो ।