बिर्तामाेड । बिभागले ताेकेकाे राजश्वकाे लक्ष्य नभेटाएपछि भन्सार कार्यालयले साना उपभाेक्ताले प्रयाेग गर्ने सामग्री आयातमा कढाई गर्न थालेकाे छ ।
बिराटनगरपछि मेची भन्सार कार्यालय काँकडभिट्टाले १०० रुपैयाँ भन्दा बढी मुल्यकाे सामग्री आयातमा अनिवार्य रुपमा भन्सार काट्नु पर्ने प्रावधान अघि सारेकाे छ ।
मेची भन्सारकै सक्रियतामा भएकाे सर्वपक्षीय भेलाले अब भारतीय बजार पानीटंकीबाट किनमेल गरेर ल्याएको एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु नेपाल भित्राएमा अबदेखि भन्सार तिर्नुपर्ने निर्णय गरेकाे छ ।
मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको सहकार्यमा शुक्रबार बसेको सर्वदलीय छलफलले १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिराउने र त्यसको लागि बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।
मेची भन्सार कार्यालयले ‘एक सयभन्दा बढी मूल्यको कुनै पनि सामान लिएर भारतको स्थल मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले आफ्नो साथमा ल्याएको मालसामानको विवरण मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य देखाइ जाँच पास गराएर मात्र लैजान सूचित गरेको छ ।
गत आर्थिक बर्षमा मेची भन्सार कार्यालयले भन्सार बिभागले ताेकेकाे राजश्व लक्ष्यकाे ७० प्रतिशत मात्र पुरा गरेकाे छ ।



















