प्रकाश उप्रेती

मेचीनगर । झापाको मेचीनगर-१४ का राजनीतिक दलले आफ्नो वडाभित्रका भौतिक बिकास निर्माणमा देखिएका समस्याको बारेमा अनुगमन गरेका छन् ।

black top

मेचीनगर-१४ मा आयोजित एक भेलाले अपुर्ब डाँगीको संयोजकत्वमा नेपाली काङ्ग्रेसका सचीव लक्ष्मी घिमिरे र जनता समाजबादी पार्टीका अध्यक्ष प्रेम साँवासहित ७ सदस्यीय अनुगमन समितिले शनिबार अनुगमन गरेको हो । संयोजक डाँगी माओवादी केन्द्रका इन्चार्ज हुन् ।

समितिको भेलाले चारजना मनोनीत गरेर ७ सदस्यीय समिति बनाउने जनाइएको छ । अनुगमनका क्रममा स्थानीयबासीले उठाएको मागलाई प्रस्तावको रुपमा निर्णयसमेत गरेको छ ।

होटल निर्माणका लागि साउन ६ गते वडा कार्यालयको संयोजनमा आयोजित सार्वजनिक सुनुवाईमा स्थानीयले आफुहरुको सहभागीता बिना नै कार्यक्रम गरेको ब्यापक गुनासो गरेपछी पुनः सुनुवाईको मागसमेत गरेको छ । पाथीभरा टोल र प्रगति टोलमा जमिन भएको `रोयल रिक्रिएशन नेपाल प्राली´ नामक होटल निर्माणका लागि भन्दै वडा कार्यालयमा सूचना टाँस गरेपछि साउन ६ गते सार्वजनिक सुनुवाई गरेको थियोे ।

तर, स्थानीयबासीलाई जानकारी नगराई  कार्यक्रम गरेको व्यापक गुनासो आएपछि पुनः सुनुवाईको माग गर्दै सम्बन्धित निकायमा जानकारी गराउने निर्णय गरेको समितिका संयोजक डाँगीले बताए । समितिले निर्माण कम्पनीको लापरबाही गरेका कारण प्रदेश सरकारको वजेटबाट निर्माणाधिन कालोपत्रे अलपत्र भएको ठहर गर्दै मेचीनगर -१० र १४ मा पर्ने पुस्पलाल मार्गमा निर्माणाधीन कालोपत्रेको ल्याब टेस्ट गर्न माग गर्ने निर्णय गरेको अनुगमन समितिले जानकारी दिएकाे छ ।

बाटोको स्तरोन्नति अन्तरगत कालोपत्रे निर्माणको ठेक्का पाएको कम्पनीले मापदण्ड अनुसारको काममा त्रुटी गरेको आशंका गर्दै सम्बन्धित निकायमा ल्याब टेस्टको माग गर्दै नगरपालिकामा डेलिकेशन जाने निर्णय गरेको छ । २०७९ फागुनमा सम्झौता गरेको कम्पनीले तिनमहिनाको समय २०८० जेठ मसान्तसम्ममा पनि काम सम्पन्न गर्न नसकेपछि १ महिनाको समय थप गरेका थिए । थप गरेको समयवधीमा पनि काम नसकेपछि कालोपत्रे बाटो अलपत्र परेको हो । ५२० मिटर लम्बाई रहेको कालोपत्रे निर्माण चाडै गर्न स्थानीयबासीले नगरपालिका समक्ष मागसमेत राखेका थिए ।

समितिले निर्माणाधीन अवस्थामै अलपत्र परेको मेचीनगर-१४ को ढुकुरे खोलको पुलको अवस्थाको पनि अनुगमन गरेको थियो । स्थानीयको जनसहभागीता र मेचीनगरको गरी २० लाख ७० हजार लागतमा गत २०८० बैशाख ४ गते सम्झौता गरि निमार्ण शुरु गरेपनी पुल अलपत्र बनेको छ । जेठ मसान्तसम्ममा सम्झौताको काम पूरा गर्ने समयावधिमा काम सम्पन्न नभएको र हाल पुलका लागि ३ वटा पिल्लरको काम सम्पन्न गरेको पाइएको अनुगमन समितिका सदस्य लक्ष्मी घिमिरेले जानकारी दिए । अनुगमनका क्रममा भेटिएकाे कमि कम्जोरीलाई सम्बन्धित निकाय नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने समितिले बताएको छ ।