काँकडभिट्टा । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट बाहिरिएको कन्टेनरभित्र लाखौं राजश्व छलिको सामान भेटिएको  छ । राजश्व अनुसन्धान कार्यालय इटहरीका अनुसार साे कन्टेनरमा गैरकानुनी रुपमा लाेड गरिएकाे लाखाै‌काे सामग्री भेटिएकाे छ ।

सन्तोष खवास प्रोप्राइटर रहेको स्वाभिमान सन्स एन्ड सप्लायर्स मेचीनगरले मेची भन्सारमा तिरेको भन्दा बढी र फरक सामान कन्टेनरमा फेला परेको राजश्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यले जानकारी दिए ।

राजश्व कार्यालयले कन्टेनर खोलेर छानबिन गर्दा भन्सार प्रज्ञापनपत्रभन्दा बढी र फरक सामान जफत गरेसँगै भन्सारभित्रबाटै राजश्व छली भएको प्रमाणित भएको हो । 

‘प्रारम्भिक अनुसन्धानको क्रममा कन्टेनरमा राजश्व तिरेको भन्दा बढी सामान भेटियो,’राजश्व अनुसन्धान कार्यालयका प्रमुख आचार्यले भने,‘भन्सार प्रज्ञापनपत्र तिरेको सामान जफत हुँदैन, त्यो भन्दा बढी भएको सबै सामान जफत गरेका छौँ ।’ 

प्रज्ञापनपत्रमा उल्लेख नभएको अफजल प्रामाणिक स्वादको गुड नाम लेखिएको ८० कार्टुन हुक्काको फ्लेवर, काँसको झ्याली र झ्याम्टा एक हजार किलो र हुक्कामा प्रयोग हुने कोइला ३०० किलो बढी भेटिएको उनले बताए । 

राजश्वले जफत गरेका सामान बापत ४८ लाख ४१ हजार रुपैयाँ धरौटी माग गरेको छ । कन्टेनरको चालकको हकमा ५० हजार धरौटी कायम गरिएको उनले बताए । राजश्वले पहिलो चरणमा सामान जफत गरी बिगो र धरौटी रकम कायम गरेको बताउँदै उनले भने, ‘राजश्वले अब थप छानबिनको प्रक्रिया अघि बढाउँछ ।’ 

भन्सारबाट बाहिरिएको कन्टेनरभित्र कसरी यतिका सामान बढी फेला पर्‍यो । त्यसबारेमा मेची भन्सारलाई राजश्वले पत्र काटनेदेखि भन्सार कर्मचारीमाथि छानविन गर्छ । ‘छानबिनको क्रममा कर्मचारी दोषी देखिएमा विभागीय कारबाही हुन्छ,’उनले भने ।  

यता जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले साउन १२ गते शुक्रबार बेलुका ७ बजेर १५ मिनेटमा मेचीनगर– ६ स्थित फाइरिङ चोकमा पार्किङ गरी राखिएको ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएर राजश्व बुझाएको थियो ।  

मेची भन्सार परिसरभित्रबाट विभिन्न सामान लोड गरी बाहिरिएको कन्टेनरभित्र राजश्व छलेको लाखौं सामान रहेको विशेष सूचनाको आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । कन्टेनरभित्र राजश्व तिरेको भन्दा बढी र फरक सामान फेला परेपछि एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाईका लागि राजस्वमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।