भद्रपुर । झापाकाे काँकडभिट्टा नाकामा प्रसासनले कढाई गरेपछि दक्षिणी झापाबाट तस्करी सुरु भएकाे छ । कचनकवल नाकाबाट  १२ बाेरा सुर्ती बरामद भएपछि तस्कर समुहले सुरक्षित नाकाका रुपमा त्यस स्थानबाट सामान आयात गर्न थालेकाे पाइएकाे छ । 

केही समयका लागि रोकिएको तस्करी पुनः मौलाउँदा कारोबारी र व्यापारी मालामाल भएको स्थानीय बताउँछन् । यसैक्रममा सशस्त्र प्रहरीले सोही नाकाबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएकाे सुर्ती बरामद गरेको छ।

पथरिया बगानदेखि धरान चल्ने यात्रुवाहक बसमा हालिएको सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले कचनकवल- ६ स्थित  बनियानी चोकबाट बरामद गरेको हो।

पथरिया बगानबाट आउँदै गरेको बुलेट नामक रातो बसलाई बिहान करिब साढे ५ बजे चेकजाँच गर्दा बेवारिसे अवस्थामा बसभित्र राखिएको १२ बोरा अर्थात् २ लाखको सुर्तीजन्य पदार्थ बरामद गरिएको सशस्त्रले जनाएको छ । बरामद गरिएको बोरामा भारतीय बादशाह ब्रान्डकाे सुर्ती रहेको छ । 

बरामद गरिएको सुर्तीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले जनाएको छ ।