दमक । मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकले २७ औं बार्षिकोत्सव तथा २९ औं साधारण सभा आइतबारदेखि शुरु गरेको छ ।

संस्थाले पत्रकार सम्मेलन मार्फत संस्थाको गत आर्थिक बर्षको बार्षिक गतिबिधि र आगामी कार्ययोजनाहरु सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले यो बर्ष सके सम्म बाह्य कर्जा नलिने नीति लिएको जानकारी दिए ।

भट्टराईले बाह्य कर्जाका कारण संस्थालाई पर्न सक्ने अप्ठ्यारोको महसुस यसपटकको आर्थिक मन्दीमा गरिएको बताउँदै गत आर्थिक बर्षमा १७ करोड ६० लाख रुपैयाँ बाह्यकर्जा घटाएको पनि उल्लेख गरे ।

उनले संस्थाका सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस बर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको बर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक बिद्यालय, टोल बिकास संस्था र अन्य गैह्रनाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराइने, यस बर्षदेखि मेघा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको पनि उल्लेख गरिएको छ । 

सहकारी आवास र उर्लाबारीमा रहेको संस्थाका नामको जग्गामा सहकारी बजार निर्माणको योजना पनि संस्थाले ल्याएको अध्यक्ष भट्टराईले जानकारी दिए । सहकारीले दमकमा सहकारी आवास निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । यस बर्ष शुरु हुने सहकारी आवास बिर्तामोड क्षेत्रमा निर्माण गरिने सम्भावना रहेको उनले बताए । 

संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको सो पत्रकार सम्मेलनमा संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै यो बर्ष संस्थाले १० करोड नाफा कमाउन सफल भएको जानकारी दिए । उनले आगामी बर्ष १६ करोड नाफा कमाउने लक्ष्य राखेको पनि जानकारी दिए । त्यस्तै २ हजार ७ सय ५० जना सदस्य संख्या थप गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख थापाले जानकारी दिए । संस्थामा अघिल्लो बर्ष ३५ करोड ५५ लाख ७८ हजार रुपैयाँ शेयर पुँजी रहेकोमा १ करोड ९४ लाख ५ हजार रुपैयाँ गत आर्थिक बर्षमा थप भएको जानकारी दिइयो ।

संस्थाको अघिल्लो बर्ष २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १ करोड ९० लाख रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको र ९९ प्रतिशत असल कर्जा रहेको प्रतिवेदनमा उल्लेख छ । ४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको यो संस्थाले गत आर्थिक बर्ष २०७९÷०८० मा विभिन्न शीर्षकमा सरकारलाई २ करोड भन्दा बढी कर तिरेको पनि कार्यकारी प्रमुख बगालेले जानकारी दिए ।

संस्थाले ७ वटा इकाइगत साधारण सभा गरि १२ भाद्रमा यसबर्षको प्रमाणिकरण साधारणसभा गर्ने जानकारी दिइएको छ ।