काठमाण्डाै । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)काे छपाई कार्य २ महिनादेखि  पूर्ण रुपमा रोकिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ कार्य प्रभावित भएको हो ।

बिभागका अनुसार अहिले वैदेशिक रोजगारमा जाने र अत्यावश्यक पर्नेहरुका लागि मात्रै फाट्टफुट्ट कार्ड छपाइ हुने गरेको छ । अन्यका लागि नियमित रुपमा हुने ठूलो परिमाणको छपाइ कार्य २ महिनादेखि रोकिएको हो ।

लाइसेन्स छपाइ कार्य रोकिएपछि ट्रायल पास भएका तथा नवीकरण हुने पर्खाइमा रहेका करिब ८ लाख प्रभावित भएका छन् । 

यतिबेला बिभागमा ८ लाख कार्ड प्रिन्ट गरेर वितरण गर्नुपर्ने दायित्व छ । ठेक्का पाएको जर्मन कम्पनीले १२ लाख कार्ड डेलिभरी गर्नुपर्नेमा नगरेका कारण छपाई हुन नसकेकाे हाे ।

दसैंअघि नै १२ लाख कार्ड आउने थप अरु कार्डका लागि टेन्डर प्रक्रिया अघि बढाउनेगरी गृहकार्य भइरहेको बुझिएकाे छ । कार्डको स्टक संख्या १ लाखभन्दा मुनि झरेपछि नियमित छपाइ हुन नसकेको बिभागले जनाएकाे छ।