बिर्तामोड । बिर्तामोडको बुधबारे हटियाबाट बिस्थापित ब्यवसायीले नयाँ स्थानमा संरचना निर्माण गरेर बजार सञ्चालन गरेका छन् । नगरपालिकाले डोजर लगाएर बिस्थापित गरेका ब्यवसायीले ‘नयाँ बुधबारे बजार’ निर्माण गरेका हुन् । 

received_678347687551414

बुधबारे बजारबाट केही उत्तरमा उनीहरुले नयाँ बजार निर्माण गरेका हुन् । नयाँ बजारको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले उद्घाटन गरेकी छन् । निर्माण शुरु गरेको ५७ दिनमै उनीहरुले आकर्षक बजार निर्माण गरेका छन् । जेठ ८ गते नगरपालिकाले १० वटा डोजर लगाएर बुधबारे हटियाको जमिन खाली गराएको थियो । 

received_1018202306043721

चारजना ब्यवसायीको साढे तीन कठ्ठा जमिन भाडामा लिएर निर्माण भएको आकर्षक बजारमा दैनिक उपभोग्य सामग्री उपलब्ध हुने छ । नयाँ बजारमा शौचालय, खानेपानी, बिद्युत लगायतको सुविधा उपलब्ध रहेको बजारका कोषाध्यक्ष बिष्णु आचार्यले जानकारी दिए । करिव १ करोड लागतमा नयाँ बुधबारे बजार निर्माण गरेको उनले बताए । 

received_1479968042797737

उद्घाटन समारोहमा वडा नं ५ का अध्यक्ष रोहित प्रसाई, बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, व्यवसायी ओमकृष्ण विमली लगायतको सहभागिता रहेको थियो ।

नयाँ बुधबारे बजारमा ५१ वटा सटर निर्माण गरिएको छ । एकातिरबाट प्रवेश गरेर अर्कातिरबाट बाहिर जान सकिने बजारमा लत्ता कपडा, जुत्ता, टेलरिङ, कस्मेटिक लगायतका सामग्री उपलब्ध छन् ।  खानेपानी, विजुली र शौचालयसहितको सुविधा भएको बजारमा २ हजार देखि २५ सयसम्म सटरको भाडा व्यवस्था गरिएको छ । 

पाँच वर्षका लागि जमिन भाडामा लिएर व्यापारीहरुले आफ्नै लगानीबाट स्थापना गरेको बजारमा सहुलियत र गुणस्तरीय सामान पाइने बजारका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । बजारमा सोही भाडामा सुरक्षा गार्ड, सरसफाई लगायतको सुविधा समेत दिइने छ ।

नयाँ बजारको उद्घाटन गर्दै नगर प्रमुख प्रसाईले व्यापारीहरुका लागि स्थानीय सरकार सधैं सकारात्मक रहेको बताइन् । उनले बुधबारे हटिया खाली गर्दा पनि व्यापारीहरुलाई सहयोग गर्ने बचन दिएको स्मरण गरिन् । नगर प्रमुख प्रसाईले बजार व्यवस्थापनका क्रममा व्यापारीलाई समन्वय गर्दै सहयोग समेत गर्ने भन्दाभन्दै कहि संघ संस्थाले प्रतिकुल वातावरण निर्माण गरेर समस्या बनाएको बताइन् । उनले आगामी दिनमा स्थानीय सरकार व्यापारीको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता समेत जनाइन् ।

कार्यक्रममा बिर्तामोड वाणिज्य संघका महासचिव अर्जुन मैनाली, वडा नं ५ का अध्यक्ष रोहित प्रसाई लगायतले व्यापारीको समस्यामा सधैं साथ दिन तयार रहेको बताएका थिए ।