अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा १० हजारभन्दा बढी पशुमा लम्पी स्किन रोगका विरुद्ध खोप लगाइएको छ । प्रकोपको रुपमा फैलिएको लम्पी स्किनविरुद्ध नगरका ११ वटै वडाका पशुमा खोप लगाइएको हो ।

साउन २२ गतेदेखि पशुमाथि खोप लगाउन थालिएको थियो । ११ वटा वडामा २२ दिनसम्म खोप लगाइने बताइए पनि पशुपंक्षी तथा मत्स्य विकास शाखाका कर्मचारीले तत्परता देखाएर खटिँदा १४ दिनमा सम्पन्न भएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

अर्जुनधाराका २५ हजारभन्दा बढी गाईलाई खोप लगाउने तयारी गरिए पनि करिब १० हजार १ सय पशुमा खोप लगाइएको राईले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी ९ नम्बर वडामा १ हजार ३१० वटा पशुमा खोप लगाइयो भने सबैभन्दा कम ६ नम्बर वडामा ३४२ वटा पशुमा खोप लगाइएको छ । 


लम्पी स्किनविरुद्धको खोप लगाउन किसानबाट ५० रुपैयाँमात्र लिने व्यवस्था मिलाइएको आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरियाले बताइन् । खोपको मूल्य १५० मध्ये नगरपालिकाले १ सय रुपैयाँ व्यहोर्ने व्यवस्था मिलाइएको थियो । 

शाखा प्रमुख राईका अनुसार अर्जुनधारामा लगाएको खोप नेपाल सरकारबाट स्वीकृत तान्जानियामा हेस्टर कम्पनीले उत्पादन गरेको नेत्थलिन खोप हो । खोप लगाउनका लागि ५ समूहमा २३ जना प्राविधिक परिचालित थिए । 

विभिन्न कारणले नगरमा अनुमानित ३ सय वटा पशुमा खोप लगाउन छुटेको हुनसक्ने शाखा प्रमुख राईले बताएका छन् । खोपसम्बन्धी भ्रम हुनु, घरमा मान्छे नुहुन, ५० रुपैयाँ तिर्न नसक्ने अवस्थाका विपन्न हुनु, हेल्चेक्र्याइँ तथा नयाँ खरिद गरेर ल्याइएको पशु भएकाले छुट्न पुगेको बताइएको छ । 

हालसम्म पशुपालक किसानबाट ४ लाख ६१ हजार ४ सय संकलन भएको र नगरपालिकाको १४ लाख ४० हजार रुपैयाँ खर्च भएको शाखा प्रमुख राईले जानकारी दिए । खोप अभियानबाट नगरमा कृषकको ६ अर्ब बराबरको पशुधन सुरक्षित भएको दाबी गरिएको छ । 

नगर उपप्रमुख खड्गमाया पराजुलीले लम्पी स्किन रोगको प्रकोप बढिरहँदा नगरले तत्काल निर्णय गरेर खोप अभियान सञ्चालन गरेको सुनाइन् । उनले विपन्न किसानलाई निःशूल्करुपमा खोप उपलब्ध गराइने पनि उनले बताइन् । 

यस्तै, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जनप्रतिनिधिको जिम्मेवारी बोधले नगरका किसानले आर्थिक क्षति व्यहोर्नबाट मुक्त हुनुपरेको भन्दै प्रशंसा गरे । छुट भएका पशुलाई एक साताभित्र खोप लगाइने र खोप लगाएको कार्ड वितरणको तयारी गरिएको बताइएको छ ।