झापा । एसियाकप क्रिकेट आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर एक टोली पाकिस्तानसँग खेल्न लागेको हो ।

यो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् । नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितेको छ ।

मुल्तान मैदान ३० हजार दर्शक क्षमताको रहेको छ । आजका सबै टिकट बुकिङ भइसकेका छन् । पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा खेल्नेछ ।

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलंका जानेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ ।  नेपाल र भारतबीचको खेल पनि नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ । नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपालको सम्भावित प्लेइङ–११

कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर) भीम सार्की, रोहित कुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी । 

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ–११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।