झापा । नेपालले आइसिसी महिला टि२० विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।लगातार चौथो जितका साथ समूह ए बाट नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । 

नेपालले एसिया क्षेत्र छनोटमा कतारलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हाे । जितको लागि ७५ रनको मध्यम लक्ष्य नेपालले १०.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् । ओपनर सीता रानामगर २३ बलमा १७ रनमा नटआउट रहिन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाउन सकेको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । तर त्यो रन नेपाललाई हराउन पर्याप्त थिएन ।

१७ औं ओभरमा मध्य तीव्र गतिकी बलर इन्दु बर्माले तीन विकेट लिँदै कतारलाई थप धरासयी बनाएकी थिइन् । इन्दुले तेस्रो बलमा साची, पाँचौं बलमा ट्रप्टी काले र अन्तिम बलमा श्रुतिबेन कमलेशभाइ रानालाई आउट गरेकी थिइन् । कतारकी ओपनर एलिना खान २५ बलमा १ चौकासहित १५ रनमा इन्दु बर्माबाट रन आउट भइन् ।

ओपनर खदिजा अहमद ४ बलमा १ चौकासहित ४ रन बनाउँदै पुजा महतोको बलमा एलबीडब्लू आउट हुन पुगेकी थिइन् । एन्जिलेने मारे १८ बलमा २ चौकासहित १४ रनमा नट आउट रहिन् । इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पुजा महतो र कजिता जोशीको नाममा समान एक विकेट रह्यो ।

समूह ए मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले समुह चरणकाे अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

युएईसँगको खेलले समूह विजेता र उपविजेता निर्धारण हुने देखिन्छ । नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमाछ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । समूह बी मा हङकङ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । थाईल्यान्ड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । कुवेत २ खेलमा २ अंकका साथ तेस्रो, चीन तीन र म्यानमार दुई खेलमा जित विहीन छन् ।

समूह ए को विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ । समूह ए को उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । फाइनल पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल महिला टि२० विश्वकप छनोट खेल्न पाउनेछन् ।