झापा । एसिया कप २०२३ को फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन् । भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो ।

बिहीबार राती भएकाे निर्णायक खेलमा श्रीलंकाले पाकिस्तानलाई २ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

उपाधिका लागि यी दुई टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछन् । सुपर फोरमा भारतले पाकिस्तानलाई २ सय २८ रन र श्रीलंकालाई ४१ रनले हराएको थियो । सुपर फोरको अन्तिम खेलमा भारतले आज बंगलादेशसँग खेल्दैछ । यो खेल प्रतिष्ठाको लडाईं मात्रै हुनेछ ।

भारत २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण शीर्ष स्थानमा छ । उता श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । भारतसँग हार्दा फाइनलमा पुग्न निर्णायक खेलमा पाकिस्तानलाई हराएको हो ।

पाकिस्तान ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । बंगलादेश दुबै खेलमा जित विहीन छ । साविक विजेता श्रीलंका १२ औं पटक फाइनलमा पुगेको हो ।

भारत १० औं पटक पुग्दा पाकिस्तान पाँच र बंगलादेश तीन पटक फाइनल पुगेका छन् । भारतले सर्वाधिक ७ र श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेका छन् । पाकिस्तानले दुई पटक एसिया कपको उपाधि जितेको छ ।