बिर्तामाेड । साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

५९ औ बाल दिवस तथा १ सय ५८ औ मोति जयन्तीको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।

साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने आख्यानकार तथा साहित्यकार पुण्यप्रसाद खरेल, शिक्षासेवी तथा पूर्व प्राज्ञ यज्ञराज प्रसाई, शिक्षासेवी जयनारायण ढुङ्गाना, हरिनारायण भट्टराई र डिल्लीराम नेपाललाई दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिएको छ । स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको उद्देश्यमा उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिएको संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको स्वागत साहित्य चौतारी झापाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले गरेका थिए ।

यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाका अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू विजय खरेल, लीला उदासी, भवानी क्षेत्री र हरिचरण बानियाँलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।
गत साता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।

साहित्य चौतारीले बाल दिवसको अवसरमा बाल प्रतिभाबीच नृत्य, गायन, कविता प्रतियोगिता पनि सम्पन्न गरेको छ ।