सिएम शर्मा
सुरुङ्गा । झापाको प्रसिद्ध धार्मिक तथा पवित्र अन्तिम संस्कार स्थल कन्काई घाट परिसरको समग्र सुरक्षा, व्यवस्थापन र मलामीहरूको सहजताका लागि प्रविधियुक्त सामग्रीहरू जडान गरी हस्तान्तरण गरिएको छ।
मारवाडी सेवा समिति बिर्तामोडको तर्फबाट उपलब्ध गराइएको करिब दुई लाख रुपैयाँ बराबरको सीसीटीभी क्यामेरा, पङ्खा तथा साउन्ड सिस्टम जडान कार्य सम्पन्न गरी घाट समितिलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा मारवाडी सेवा समितिका सचिव गौरीशंकर गुप्ता (टिंकु) ले हस्तान्तरण पत्र वाचन गर्नुभएको थियो भने मारवाडी सेवा समितिका अध्यक्ष विजय कुमार गोयल र निवर्तमान अध्यक्ष मोहन कुमार मित्तलले घाट समितिका अध्यक्ष डिल्लीराम मैनालीलाई उक्त पत्र हस्तान्तरण गर्नु भएको थियोे ।
घाटमा अन्तिम संस्कारका लागि आउने मलामीहरूका मोटरसाइकल तथा हेलमेट चोरी हुने शृङ्खलाबद्ध समस्या र साँझ-रातिको समयमा लागुऔषध प्रयोगकर्ताहरूको घुसपैठलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यले सीसीटीभी प्रणाली जडान गरिएको हो। यसका साथै गर्मी मौसममा मलामीहरूलाई राहत दिन प्रत्येक फलैँचा (विश्रामस्थल) मा पङ्खा र घाट परिसरलाई वातावरण अनुकूल भक्तिमय एवम् सचेतनामूलक बनाउन निरन्तर भजन बजाउने साउन्ड बक्सको समेत माडवारी सेवा समितिले व्यवस्थापन गरिदिएको छ ।
कार्यक्रमका अध्यक्ष एवम् कनकाई घाट समितिका अध्यक्ष डिल्लीराम मैनालीले सहयोगी दाताहरूप्रति आभार व्यक्त गर्दै जडान गरिएका क्यामेराहरू ‘नाइट भिजन’ प्रविधिका रहेको जानकारी दिनुभयो। उहाँका अनुसार क्यामेराहरूलाई एकले अर्काको दृश्य कैद गर्ने गरी ‘क्रस निगरानी’ ढाँचामा राखिएकाले नियतवश तोडफोड गर्न खोज्नेहरू स्वयं क्यामेराको नजरबाट उम्किन सक्ने छैनन्। यसले परिसरमा हुने अमर्यादित क्रियाकलाप रोक्न ठूलो मद्दत पुग्ने बताउँदै उहाँले प्रदेश सरकार र कनकाई नगरपालिकाको सहयोगमा निर्मित विद्युतीय शवदाहगृह घाट समितिलाई औपचारिक हस्तान्तरण हुनासाथ कार्यविधि बनाएर यथाशीघ्र सञ्चालनमा ल्याइने स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि एवम् कन्काई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले स्थापना कालदेखि नै मारवाडी सेवा समिति बिर्तामोडले घाटको स्तरोन्नतिमा निरन्तर सहयोग गर्दै हालसम्म १ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको जानकारी दिनुभयो। देखावटी धर्मभन्दा अन्तरमनको सेवा नै वास्तविक पुण्य भएको उल्लेख गर्दै सुवेदीले घाट परिसरबाट आफ्नै हेलमेट पनि चोरी भएको विगतको अनुभव साझा गर्नुभयो।
यस्तै, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष विजय कुमार गोयलले आफू स्वयं मलामी आउँदा गर्मीको सकस र सामान चोरीका गुनासोहरू सुनेपछि यो सुरक्षा पहल गरिएको बताउनुभयो। समितिका निवर्तमान अध्यक्ष मोहन कुमार मित्तलले घाटको अवस्था दिनप्रतिदिन सुधार भइरहेकोमा खुसी व्यक्त गर्दै निर्मित विद्युतीय संरचना सञ्चालनका लागि संस्थागत र व्यक्तिगत दुवै तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख रवि राईले यस क्षेत्रमा चोरीका घटना हुनुका साथै रातसाझ लागू औषध प्रयोगकर्ताहरु आएर सेल्टरको रुपमा प्रयोग गर्ने गरिरहेको बताउँदै यस क्षेत्रमा जोडिएको सिसी क्यामेराबाट उक्त क्षेत्रको निगरानी हुने विश्वास लिदै उक्त सीसीटीभीको निगरानी प्रहरी स्वयंले पनि गर्ने बताउँदै चोरी तथा लागुऔषधसम्बन्धी अवाञ्छित गतिविधि पूर्ण रूपमा निस्तेज पार्न प्रहरी सजग रहने विश्वास दिलाउनुभयो।
कार्यक्रममा मारवाडी सेवा समितिका सहसचिव बजरंग अग्रवाल, सदस्यहरू अमित कुमार अग्रवाल, टेकेन्द्र , अग्रवाल (टिनी), साधारण सदस्यहरू साहिल अग्रवाल, सन्तोष अग्रवाल (जो घाट समितिका पनि सदस्य हुनुहुन्छ) का साथै घाट समितिका कोषाध्यक्ष युवराज उप्रेती, लेखा समिति सदस्य भरत कुमार ढकाल र कार्यसमिति सदस्य मनिष रिजाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई कनकाई घाट समितिका उपाध्यक्ष भक्तिप्रसाद सङ्ग्रौलाले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव गोपाल खरेलले गर्नु भएको थियो ।


















